समाज

गृहमन्त्रालयले देशभरका प्रजिअको मूल्यांकन गर्दै

काठमाडौं - गृहमन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यसम्पादन मूल्यांकन गर्ने भएको छ। देशभरका सिडिओ कार्यालयहरुमा जनगुनासो नबढेस सेवा प्रभावकारी बनोस् भन्ने उद्देश्यले मन्त्रालयबाट कार्यसम्पादन मूल्यांकन गर्ने भएको हो।

त्यसक्रममा आइतबार गृ सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य, ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका छन्। शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा गृहमन्त्रालयले प्रजिअको मूल्यांकन गर्नेछ। मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता फारमअनुसार अन्तर्राष्ट्रिय सीमा जोडएका जिल्लामा १०२ पूर्णाङ्क र सीमा नजोडएका जिल्लामा ९९ पूर्णाङ्क रहेको छ। प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अंक प्रदान गरीने सो सम्झौता फारममा उल्लेख गरेको छ।

गृहसचिव राईले पहिलो चरणमा आइतबार तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरिएको जानकारी दिँदै केहीदिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग यसप्रकारको सम्झौता हुने बताए। उनका अनुसार आवश्यकता अनुरूप मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेसँगै गत वर्ष चैत १९ गते उनले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गरेसँगै कार्यसम्पादन मूल्यांकन सुरु भएको हो। सो कार्ययोजनाको बुँदा नं २६ मा ‘विभागीय प्रमुख र कार्यालय प्रमुख, निजामती र प्रहरी कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्न कार्यविवरण र सूचक तयार गरिने र कार्यसम्पादन करार गराई विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खटाउने’ उल्लेख छ।

प्रकाशित: १६ पुस २०७५ ०१:४० सोमबार

गृहमन्त्रालय सिडिओ मूल्यांकन