समाज

उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ - गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सँग आइतबार कार्यसम्पादन सम्झौता गरेको छ।

गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य,  ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले आइतबार गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन्।शान्ति सुरक्षा र अमनचयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा प्रजिअको मुल्यांकन गरीनेछ।

अन्तर्राष्ट्रिय सिमा जोडएका जिल्लाहरुमा १०२  पुर्णाङ्क र सिमा नजोडिएका जिल्लाहरुमा ९९ पुर्णाङ्क रहने छ। प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अङक प्रदान गरीने सम्झौतामा उल्लेख छ।

कार्यक्रममा गृहसचिव राईले पहिलो चरणमा आइतबार तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरीएको जानकारी दिँदै केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग सम्झौता गरीने जानकारी दिए। उनले आवश्यकता अनुसार मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्नसक्ने बताए। सम्झौताले सबैमा काम गर्न थप उत्साह प्रदान गर्ने बताउँदै राइले मुल्याकंनले आफ्नो जिम्मेवारी पुरा गर्न  प्रेरित गर्ने बताए। काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्न समेत सम्झौताले भूमिका खेल्ने गृहसचिव राईको भनाई छ। 

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेसँगै गत वर्ष चैत १९ गते ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गरेका थिए। सो कार्ययोजनाको बुँदा नं २६ मा ‘ विभागीय प्रमुख र कार्यालय प्रमुख, निजामति र प्रहरी कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्न कार्यविवरण र सूचक तयार गरीने र कार्यसम्पादन करार गराई  विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खटाउने ’ उल्लेख छ।

प्रकाशित: १५ पुस २०७५ १०:४५ आइतबार

गृहमन्त्रालय कार्यसम्पादन_सम्झौता