समाज

तमु ल्होसारमा शुभकामना : मौलिक पर्वले एकताको भाव बढाउँछ

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएकी छन्।

तमुल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताएकी छन्।

राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। 

उपराष्ट्रपति पुनले आज एक शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताएका छन्। तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई आज शुभकामना सन्देश दिँदै उनले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको बताए। 
 

 

प्रकाशित: १५ पुस २०७५ ०३:३३ आइतबार

ल्होसार एकता शुभकामना