समाज

मनाङमा माइनस २१ डिग्री

फाइल फाेटाे

पोखरा – हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुुसार शुक्रबार बिहानको तापक्रम माइनस २१ डिग्री थियो। दिउँसो साढे ११ बजेपछि घाम लागेर तापक्रम केही घटे पनि बेलुकीपख उस्तै चिसो बढेको उनले बताए। ‘माइनस २१ डिग्रीको चिसोमा बसेका छौं। बाहिर चहलपहल पनि खासै छैन। मान्छेको आउजाउ नै छैन,’ उनले भने, ‘चिसो बढेकोले बाहिर हिँडडुल गर्न सकस छ।’

उनका अनुुसार सदरमुकाम चामे, माथिल्लो क्षेत्र खाङसार, हुम्दे, टंकी मनाङलगायतका क्षेत्रमा बिहीबार झन्डै ७ घण्टासम्म हिमपात भएको थियो। बाक्लो हिमपातका कारण चिसो ह्वात्तै बढेको उनले बताए। सदरमुकाम चामेमा एक इन्च बाक्लो हिउँ जमेको जानकारी उनले दिए। माथिल्लो क्षेत्रमा भने चार इन्चजति हिउँ जमेको उनले बताए। ‘बिहीबारको हिमपातले गर्दा चिसो ह्वात्तै बढेको छ। शुक्रबार दिउँसो घामले तापक्रम केही बढे पनि बेलुकी निकै चिसो भयो,’ प्रजिअ देवकोटाले भने।

उनका अनुसार सबैभन्दा टाढा नार र फू का बासिन्दा घर छाडेर तातो क्षेत्रतिर झरेका छन्। नार र फू मा १० जनाजति मान्छे मात्र घर कुरेर बसेको उनले बताए। ‘सदरमुकाम क्षेत्रका पनि आधाजति घरमा ताला लागेको छ,’ उनले भने, ‘अधिक चिसो भएपछि सुनसान छ।’ चिसो नघटेसम्म घरमा ताला लगाएका बासिन्दा गाउँ नफर्किने उनले बताए। घर छाडेका बासिन्दा बेसीसहर, पोखरा, काठमाडौंलगायत क्षेत्रसम्म पुग्छन्।

प्रजिअ रुद्रनाथ देवकोटाका अनुसार अत्यधिक चिसोले सदरमुकाम चामे, नार, फू, खाङसार, हुम्दे, टंकी मनाङलगायत क्षेत्रमा चहलपहल शून्यजस्तै छ। धाराको पानी पनि जमेको छ। साना खहरे खोला पनि जमेका छन्। स्थानीय चिसो छल्न न्यानोको खोजीमा बेसीतिर झरेका छन्।

अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङमा पर्यटक आक्कलझुक्कल पुगे पनि चहलपहल उत्तिसारो छैन। केही पर्यटक पदयात्रामा हिँडे पनि फेरो क्षेत्रको माथिल्लो भेगमा बाक्लो हिमपातले गर्दा असहज भएको उनले बताए। ‘मुस्ताङ हुुँदै पनि पर्यटक मनाङ आएका थिए। ती पर्यटकले पनि बाक्लो हिमपात भएको जानकारी दिएका थिए,’ देवकोटाले भने, ‘मनाङबाट फेरो पार गर्न हिँडेका पर्यटक बाटोमै छैनन्। तर, उनीहरु सबै सुरक्षित छन्।’

प्रजिअ देवकोटाका अनुसार धाराको पानी पनि जमेको छ। साना खहरे खोला पनि जमेका छन्। मस्र्याङदीमा पानीको बहाव बढी भएकाले किनारमा जमे पनि खोला पूरै भने जमेको छैन। ‘सानातिना खहरे त पूरै जमेका छन्। तर, मूल नदी मस्र्याङदीको किनारको पानीमात्र जमेको छ। खोलाको मूल बहावको पानीचाहिँ बगेको छ,’ उनले भने। देवकोटाका अनुसार मनास्लु क्षेत्रतिरको मौसम केही खुले पनि अन्यत्र अझै हिमपातको सम्भावना छ।

अर्को हिमाली जिल्ला मुस्ताङमा पनि तापक्रम माइनस १२ डिग्रीसम्म झरेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिए। उनका अनुुसार मुस्ताङमा पनि चिसोका कारण चलहपहल निकै नै कम छ। ‘कालिगण्डकी नदी किनारमा पानी जमेको छ। अरुतिर भने खुला भएकाले उत्तिसारो अप्ठेरो छैन,’ रेग्मीले भने, ‘तर, बिहानबेलुकी चिसो अधिक छ। चिसोका कारण बजारमा समेत चलहपहल कम छ।’

प्रकाशित: १४ पुस २०७५ ०२:२७ शनिबार

हिमाली_जिल्ला मनाङ हिमपात तापक्रम