समाज

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

बेत्रावती -  दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

उनका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो।

उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पु-याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुईविरुद्ध आइतबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ।

पक्राउ परेका दुईविरुद्ध गत भदौ १८ गतेदेखि हराएका उर्लेनीका तीन किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन्। सो घटनामा उनीहरूको संलग्नता सम्बन्धमा प्रहरीले पीडित पक्षबाट उजुरी लिएर अनुसन्धान अघि बढाएको छ। रासस

प्रकाशित: ८ पुस २०७५ ०६:०९ आइतबार

नाबालिका भारत युवा पक्राउ