समाज

पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

पाल्पा – पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पूर्वखोला गाउँपालिकाको जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जादै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो। घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ३३ की यानीसरा गाहा, वर्ष २४ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ वर्षकी बुमाकुमारी दर्मामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

मृतक सबै माथागढी गाउँपालिका–८, बहादुरपुरका रहेको बताइएको छ। बुमाकुमारी दर्लामी सुत्केरीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो। तीन दिनको बच्चा भने सकुशल नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेहरुमा बहादुरपुरकै सुरेन्द्र मश्राङ्गी, देवसिंह राना र सान्ता रुचाल रहेका छन्।

रातीको समय भएको र उद्दारमा समेत अप्ठ्यारो परेको वडाध्यक्ष नीरबहादुर सारुले बताए। जल्पाको रमितापुर भन्ने स्थानमा जीप सडकबाट झण्डै ९ सय मिटर तल खसेको थियो।

 

प्रकाशित: २८ मंसिर २०७५ ०३:१९ शुक्रबार

जीप_दुर्घटना मृत्यु