समाज

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

कञ्चनपुर - साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला पन्त हराएपछि आमा दुर्गादेवी र छिमेकीले अनेक बिन्ती गर्दा पनि प्रहरी खोजीमा गइदिएन। युवती हराउने र खोजी गर्दा बलात्कारसहित हत्या भएको अवस्थामा फेला पर्ने घटना भइरहेका बेला प्रहरीको यो व्यवहारले स्थानीय असन्तुष्ट बने। निर्मला हराएको बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्नू भन्दा प्रहरीले इन्कार ग-यो। उल्टै निर्मलाका बुवालाई धम्काइयो। निर्मलाले लगाएको सुरुवाल पखालियो। उसको शरीरमा पाइएका सुरुवाल, टिसर्ट र पेन्टी नष्ट गरियो। कापीकिताबको फिंगर प्रिन्ट लिइएन। अम्बाको रुखको फिंगर र फुट प्रिन्ट लिइएन।

जीवन घर्तीलाई म दोषी हुँ भन्ने लगाइयो। चक्र बडू, हेमन्ती बडूलगायत समातेर यातना दिई हत्यारा साबित गर्न खोजियो। दिलीप बिष्टलाई दोषी भनेर सार्वजनिक गरियो। न्यायका लागि प्रदर्शन गरिरहेका सर्वसाधारणमाथि गोली चलाएर एकजनाको ज्यान लिइयो, कयौंलाई घाइते बनाइयो। उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि कमजोरी देखाइएका तत्कालीन एसपी डिल्ली बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सरकारी जागिरका लागि भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको कुरामा पनि स्थानीय असन्तुष्ट छन्। ‘हत्यारा जोगाउने चलखेलमै उनीहरुलाई पुनर्बहाली गर्नेगरी यो नाटक गरिएको हो’, निर्मलाका मामा केशव भण्डारी भन्छन्। प्रदीप रावल र विशाल चौधरीलाई डिएनए रगतको रिपोर्ट नआउँदै प्रहरीले दोषी भनेर लेखायो। विशालसँगै उनका बुवालाई पनि काठमाडौं लगियो। बुवा वीरबहादुृरकै अघि विशाललाई ‘मैले हत्या गरेको हुँ’ भन्न लगाइयो। ‘अनुसन्धानमा रहेका बेला विशाललाई मेरै अघि आरोप स्विकार्न लगाउनुले शंका उब्जायो’, वीरबहादुरले भने।

निर्दोषलाई फसाउन खाजेको भन्दै पुनः आन्दोलन
प्रदीप रावल र विशाल चौधरीलाई दोषी भनेर सूचना चुहाएपछि प्रहरीको अनुसन्धान फेरि विवादमा परेको छ। कञ्चनपुरवासीले फेरि नक्कली दोषी खडा गर्न प्रहरी लागेको भन्दै आन्दोलन जारी राखेका छन्। सोमबार चक्काजाम गरेका उनीहरुले मंगलबार र बुधबार महेन्द्रनगरमा जुलुस निकाले। उनीहरुले ‘निर्दोषलाई फसाउन पाइँदैन, दोषीलाई सार्वजनिक गर’ लगायतका नारा लगाएका थिए। प्रदीप र विशालका आफन्तसहित छिमेकी स्थानीयको पनि जुलुसमा सहभागिता थियो। प्रहरीले आधिकारिक रुपमा उनीहरुलाई दोषी भनेको छैन। कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत दुईजनाको डिएनए जाँच गर्न दिएको र त्यसको रिपोर्ट आएपछि मात्र टुंगो लाग्ने बताउँछन्।

सद्बुद्धि माग्दै होम
आन्दोलनरत रहेका महिला अधिकारकर्मीले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीप्रमुखको सद्बुद्धि आओस र निर्मलाको आत्माले शान्ति पाओस् भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयअगाडि होम गरेका छन्। ‘प्रधानमन्त्री, मन्त्री र प्रहरी प्रमुखको सद्बुद्धि आओस र निर्मलाको आत्माले शान्ति पाओस् भनेर हामीले होम गरेका हौं’, नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले भनिन्। उनीहरुले धार्मिक विधिअनुसार ब्राह्मणको मन्त्रपाठसहित हवन गरेका थिए।

प्रकाशित: २७ मंसिर २०७५ ०२:२१ बिहीबार

निर्मला_हत्याकाण्ड प्रहरी स्थानीय