समाज

एटिएम तोडफोड गर्ने पक्राउ

काठमाडौं– मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्।

बैंकले उजुरी दिएपछि सिसीटिभी फुटेजको आधारमा झन्डै दुई साताको खोजी पश्चात यादवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रहरीले फुटेजमा देखिएको हुलियाको आधारमा खोजी गरिरहेको अवस्थामा  सोमबार साँझ करिब सवा ६ वजेको समयमा उक्त बैंक रहेको भवनमा शंकास्पद अवस्थामा प्रवेश गरेका व्यक्ति यादवलाई नियन्त्रणमा लिई खान तलासी गर्दा उनले बाँयाखुट्टा तर्फको पाइन्टभित्र लुकाई ल्याएको फलामको १ थान रड प्रहरीले फेला परेको थियो।

साथै प्रहरीले यादवलाई पक्राउ गरी सोधपुछ गर्दा मंसिर ११ गते पैसा चोरी गर्ने उद्देश्यले एटिएम तोडफोड गरेको घटनासमेत खुलेको थियो। प्रहरी वृत्त वानेश्वरले यादवविरुद्ध चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ मंसिर २०७५ १०:०७ बुधबार

एटिएम मुक्तिनाथ_विकास_बैंक तोडफोड