समाज

सुत्केरीलाई कुखुराको भालेसँगै पैसा उपहार

पाल्पा- रुप्से स्वास्थ्य चौकीले सुत्केरीलाई कुखुराको भालेसँगै पैसा उपहार दिएको छ। माथागढी गाउँपालिका–२, रुप्सेकी धनमाया डिसुवाले जिउँदो भालेसँगै सात हजार रुपैयाँ प्राप्त गरेकी हुन्।

रुप्से स्वास्थ्य चौकीका अध्यक्ष समेत रहेका वडाध्यक्ष जनक रिजेलले पहिलो पटक रुप्से स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई सम्मान गरिएको बताए। उनी भन्छन्, ‘गाउँकै स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी सेवा सुरु गरेको एक हप्तामै बच्चा जन्मिएको छ। सिङ्गो गाउँपालिकालाई शुन्य होम डेलिभरि गराउँदै छौं।’ उनले गाउँमै नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरिएको र त्यसमा सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउन २४ सै घण्टा स्वास्थ्यकर्मी रहने बताए। रुप्से स्वास्थ्य चौकीमा पहिलो महिला सुत्केरी भएको स्वास्थ्य चौकी ईञ्चार्ज रामप्रसाद अर्यालले बताए।

स्वास्थ्य चौकीमा सुत्केरी हुने धनमायालाई सरकारले उपलब्ध गराउने २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ। गाउँपालिकाले उपलब्ध गराउने २ हजार ८ सय रुपैयाँसँगै वडाध्यक्षबाट एक हजार र स्वास्थ्य संयोजकबाट थप एक हजार रुपैयाँ समेत पहिलो सुत्केरीलाई उपलब्ध गराईएको स्वास्थ्यचौकीले जनाएको छ।

 

प्रकाशित: ६ मंसिर २०७५ १२:५१ बिहीबार

भाले सुत्केरी