समाज

राजधानीमा असुरक्षा बढ्दो

धनगढी – प्रदेश प्रमुखको कार्यालयअगाडि होटल कलशको आँगनमा शुक्रबार राति पानै ९ बजे धनगढी ४ उत्तरबेहडी निवासी २५ वर्षीय विजय थापाको हत्या भयो । टाउकोमा चोट लागेर रक्ताम्मे रहेका थापालाई अर्का युवक आशिष सेठीले घिसार्दैै लगिरहेका थिए । आवाज सुनेर घरभित्रबाट निस्केका दीपेन्द्र चौधरीले आशिषलाई समातेर प्रहरीलाई बुझाए । कलश होटल रहेको भवनको छत युवाका लागि निर्बाध लागूऔषध सेवन गर्ने स्थल थियो।

मान्छेको चहलपहल भइरहेकै अवस्थामा पौनै ९ बजेतिर प्रदेश कार्यालयकै सामु एक युवकको हत्या भयो । सेठीमाथि कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएर अदालतबाट म्याद थपाइएको कैलालीका प्रहरी नायब उपरीक्षक हरि वलीले बताएका छन् । सेठीले भने आफूले हत्या नगरेको र उद्धार गरेर अस्पताल लैजाने क्रममा प्रहरीले पक्राउ गरेको बयान दिएका छन् । बजारमै हत्या भएको, हत्यारा बचाउने खेल भएको र नागरिकको असुरक्षा बढेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आफन्तले थापाको शव बुझ्न इन्कार गरेका छन्।

यसअघि कात्तिक २३ मा भाइटीकाको दिन धनगढी बसपार्कमा करिब ४० वर्षीय व्यक्तिको शव भेटियो । कम्मरमा चोट, अण्डकोष सुनिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँग फेला परेको परिचयपत्रमा नाम मोहना बोहरा र बाजुरा, ढारकोट ठेगाना उल्लेख रहेको प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताएका छन् । ‘उनको कम्मरमा चोट लगेको र अण्डकोष सुनिएको थियो’, उनले भने । उनका आफन्त सम्पर्कमा नआएकाले प्रहरीले नगरपालिकालाई शव बुझायो । हत्या कसले किन गर्या, प्रहरीले पत्ता लगाउन सकेको छैन । मृतकका आफन्त नखुलेकाले उजुरी दिने र पहल गर्ने नहुँदा प्रहरीलाई यो घटनामा हाइसन्चो भएको छ । ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालयको निमित्त प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक वलीले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन।’

स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिका अत्तरियामा विद्यालयबाट घर फर्किरहेकी १७ वर्षीया एक किशोरीलाई गत सोमबार दिनदहाडै पाँचछजना युवाको समूहले आक्रमण गरेर हत्या प्रयास गर्यो । व्यस्त राजमार्गमै कुटपिट गरेर ती किशोरी बेहोस भएपछि मरेको ठानी नालीमा फालेर आक्रमणकारी फरार भए । प्रेम प्रस्ताव स्वीकार नगर्दा युवा समूहले हत्या गरेर नालीमा फाल्ने योजनासहित आक्रमण गरेको प्रहरीले जनाएको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्यनरत किशोरी ईश्वरी चौधरी बिहान १० बजे कलेज बिदा भएपछि घर फर्किने क्रममा आक्रमणमा परेकी हुन् । नालीमा फालिएकी उनको आफैं होस खुलेकाले उद्धार हुन सकेको हो । ‘५–६ जना युवाले लात, मुक्का प्रहार गर्न थालेपछि म बेहोस भएर ढलें । पछि के भो, थाहा भएन, होस खुल्दा म नालीमा थिएँ । म चिच्याएपछि सडकमा हिँड्नेले प्रहरीलाई खबर गरेर अस्पताल पुर्याए ।’ यी किशोरीको पद्मा अस्पतालमा उपचार भइरहेको छ । पीडित किशोरीको किटानी उजुरी परे पनि प्रहरीले हत्या गर्ने योजनाका साथ आक्रमण गर्नेलाई पक्राउ गर्न सकेको छैन।

यी प्रतिनिधिमूलक घटनामात्र हुन् । प्रदेशको अस्थायी र स्थायी राजधानी रहेका धनगढी र अत्तरियामा प्रहरीको फितलो भूमिकाका कारण अपराधसँगै असुरक्षा बढेको छ । नागरिकले आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले ध्यान नदिएको गुनासो गरेका छन् । ‘राजधानीमै प्रदेश प्रमुखको कार्यालयअगाडि मान्छेको चहलपहल भइरहने ठाउँमा सजिलै हत्या भएको छ’, स्थानीय प्रेम साउदले भने, ‘हामी नागरिक असुरक्षित भएका छौं ।’ अपराध हुन नदिन भूमिका निर्वाह गर्नुपर्ने प्रहरी घटना भइसकेपछि पनि अपराधी बचाउने चलखेलमा लाग्ने गरेको उनको भनाइ छ । ‘थापाको हत्यामा पनि दोषीलाई बचाउन खोजेकाले हामीले आन्दोलनको घोषणा गरेका छौं’, उनले भने, ‘ भोलि (सोमबार) प्रदर्शन र पर्सी मंगलबार दिउँसो १२ बजेदेखि धनगढी बजार बन्द गर्ने भएका छौं।’

प्रहरीको ध्यान राजनीतिक दलका नेताको चाकडी गर्ने, आपराधिक गतिविधि हुने ठाउँवाट महिनाबारी असुल्नेमा मात्र गएकाले समाजमा सजिलै अपराधीले घटना गराउन सक्ने अवस्था आएको नागरिक समाजका अगुवा जनकराज पाण्डेय बताउँछन् । ‘प्रहरीले आपराधिक गतिविधिमा संलग्नको पहिचान गरेर निगरानी राख्नुपर्नेमा गर्न सकेको छैन’, उनी भन्छन्, ‘आपराधिक गतिविधिमा संलग्नबाटै प्रहरीकहाँ महिनाबारी रकम जाने हुँदा पनि अपराधलाई प्रश्रय मिलेको छ ।’ राजनीतिक दलले पनि प्रहरीलाई अपराध गर्ने व्यक्ति छुटाउन दबाब दिने, राम्रो ठाउँमा दरबन्दीमा जाँदा पैसा बुझाएर जाने प्रवृत्ति प्रहरीभित्र रहेकाले पनि दण्डहीनता र अपराध बढेको उनको विश्लेषण छ।

प्रहरीले अपराध नियन्त्रण गर्न सूक्ष्म अध्ययन गर्ने र नीति बनाउनेतर्फ ध्यान नदिएको स्थानीयको भनाइ छ । ‘प्रहरीले सूक्ष्म अध्ययन गरेर अपराध रोकथाम गर्न पहल गर्नुपर्नेमा त्यसतिर ध्यान नै छैन । कहाँबाट पैसा आउँछ, कसरी नेता खुसी बनाउने भन्नेमै मात्र ध्यान छ’, नागरिक समाजका अर्का अगुवा हरि रेग्मी भन्छन्, ‘त्यही कारण समाजका डरलाग्दोसँग अपराध बढिरहेको छ ।’ अपराध गरेका व्यक्तिलाई पनि राजनीतिक पहुँच, आर्थिक पहुँचले बचाउने खेल हुँदा अपराधीको मनोबल बढ्ने गरेको उनी बताउँछन् । सादा पोसाकका घुमुवा प्रहरी नै बढीजसो आपराधिक गतिविधि हुने ठाउँबाट महिनाबारी असुल्न व्यस्त हुने गरेको उनको भनाइ छ।

पूर्व प्रहरी नायब महानिरीक्षक शरद चन्द एउटा समाजमा आपराधिक सोच भएका आठनौजनाजति हुने र तिनका गतिविधि अध्ययन गरेमा अपराध नियन्त्रण गर्न सकिने बताउँछन् । ‘प्रहरीका घुमुवा त्यसैका लागि हो, यहाँ त कतिपय हाकिमहरुले बिगारे, कतिपय उनीहरुको मतिभ्रष्ट भयो’, उनी भन्छन्, ‘उनीहरुको ध्यान अर्कैतिर भयो ।’ कैलालीका निमित्त प्रहरी प्रमुख वलीले दुईचार घटना हुँदैमा असुरक्षा बढेको भन्न नमिल्ने तर फाटफुट घटना भने बढेको बताए।

प्रकाशित: ३ मंसिर २०७५ ०१:३२ सोमबार

सुदूरपश्चिम_प्रदेश राजधानी असुरक्षा