समाज

जोखिमस्थलमै घर बनाउँदै भूकम्पपीडित

भूकम्पले चिराचिरा पहाडमुनिको सिगार्चे गाउँमा बनिरहेका घर । फाइल तस्बिर : नागरिक

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका भूकम्पपीडितले आफू बसिरहेको स्थान जोखिमयुक्त भए पनि छोड्न मानेका छैनन् । स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस बेवास्ता गर्दै उनीहरुले जोखिमयुक्त क्षेत्रमै आवास पुनर्निर्माण गरिइरहेका छन्।

२०७२ वैशाखको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खटाएको विज्ञ टोलीले जिल्लाका १० गाउँ जोखिमयुक्त रहेको ठहर गर्दै त्यहाँका ६ सय ९३ परिवारलाई सुरक्षितस्थलमा स्थानान्तरण गर्न सिफारिस गरेको थियो । गुम्बाको तापगाउँ, जलवीरेको खमारे र लिस्तिको गुम्बाडाँडाका पीडितले जोखिमयुक्त स्थानमै घर पुनर्निर्माण गरिरहेका छन्।

उनीहरु अझै स्थानान्तरणमा अटेर गरी पुनर्निर्माणमा जुटिरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार÷जिमाली) ले जनाएको छ । ‘पीडितले जोखिमयुक्त पुरानै स्थानमा घर बनाएको पाइएको छ,’ जिमालीका निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापाले भने, ‘कतिपय पीडित जोखिमयुक्त बस्ती छोड्नै तयार छैनन्।’

भूकम्पले चर्काएको जमिन र चारैतिर पहिरोले घेरेको साबिक ठाउँमै घर बनाउन पीडित सक्रिय छन् । थापाका अनुसार १ सय ८६ घर जोखियुक्त ठाउँमै निर्माण भइसकेका छन् । जोखिममै घर बनाएका पीडित परिवारले सरकारले आवास पुनर्निर्माणका लागि उपलब्ध गराएको पहिलो, दोस्रो र तेस्रो किस्तासमेत लगिसकेको पाइएको छ।

जोखिमयुक्त स्थानको भौगार्भिक अध्ययन भए पनि सूचीकरणमा भएको ढिलाइले बस्ती स्थानान्तरणमा जटिलता थपिएको व्यवस्थापक थापा बताउँछन् । जोखिमयुक्त बस्तीबाट अन्यत्र स्थानान्तरण हुनुपर्ने पीडितलाई प्राधिकरणले घडेरी खरिद गर्न २ लाख रुपैयाँका दरले थप अनुदान उपलब्ध गराउँदै आएको छ । तर यस्तो अनुदानले पीडितलाई आकर्षित गर्न नसकेको पाइएको छ । जिमालीका अनुसार सीमानाका तातोपानी रहेको भोटेकोसी गाउँपालिकाका २ सय ५८, जुगल गाउँपालिकाका १ स ४५ र हेलम्बु गाउँपालिकाका १ सय ६ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने विज्ञले औंल्याएका थिए।

स्थान्तरण सिफारिस भएकामध्ये हालसम्म १ सय ५३ परिवार मात्र अन्यत्र सर्ने प्रक्रियामा छन् । उनीहरु अनुदानबाट घडेरी खरिद गरी पुनर्निर्माणमा जुटिरहेको व्यवस्थापक थापाले जनाए । यसबाहेक स्थानन्तरण हुन बाँकी ५ सय ४० परिवारमध्ये झण्डै ३५ प्रतिशत अर्थात् १ सय ८६ परिवारले जोखिमयुक्त बस्तीमै घर बनाएका छन् । ‘जोखिमयुक्त ठाउँमै घर बनाउनेलाई अब के गर्ने, उनीहरुले लिएको अनुदान के हुने भन्ने अन्योल थपिएको छ,’ प्राधिकरण केन्द्रको कमजोरी देखाउँदै थापाले भने । जोखिमयुक्त स्थानमा घर नबनाउन आफूले आग्रह गरिरहेको उनले बताए।

स्थानान्तरणका लागि सिफारिस भएकामध्ये १ सय १९ परिवारको अन्यत्र घडेरी रहेको पाइएको जिमालीले जनाएको छ । उनीहरुले घडेरी किन्न अनुदान पाउने छैनन् । अनुदान लिएको पाइए फिर्ता गराउने उनको भनाइ छ । स्थानान्तरण हुनुपर्नेमध्ये ५१ परिवारले आफैंले अन्यत्र जग्गा खरिद गरिसकेको भेटिएको छ । उनीहरुले प्राधिकरणसँग घडेरी किन्न् अनुदान रकम माग गरे पनि पाउन सकेका छैनन्।

जोखिमयुक्त बस्तीमै घर बनाएका, अन्यत्र जग्गा भएका, प्राधिकरणबाट घडेरी खरिद अनुदान रकम लिई अन्यत्र सर्ने प्रक्रियामा जुटेका र आफ्नै लगानीमा घडेरी खरिद गरेकाबाहेक अझै १ सय ८४ परिवारलाई स्थानान्तरणको बाटोमा ल्याउन नसकिएको थापा बताउँछन् । ‘उनीहरुलाई स्थानान्तरण गराउन प्राधिकरण केन्द्रसँग पहल गरिराखेका छौं,’ उनले भने । स्थानान्तरणमा अझै ढिलाइ गरे पीडितले जोखिमयुक्त स्थलमै थप पुनर्निर्माण अघि बढाउने देखिएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०४:३३ आइतबार

जोखिमस्थल भूकम्पपीडित घर