समाज

आशैआशमा जीवन जाने डर

इटहरी - भूमिगत सशस्त्र समूहको त्रासले विस्थापित भएका ११ वर्ष बितिसक्यो। त्रासले गाँस, बास र कपास खोसिएसँगै विस्थापित बासिन्दा बराहक्षेत्र वडा नं. ३ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्ग्गा ओगटेर बसे। त्यहाँ पनि केही वर्षअघि सिँचाइ आयोजनाले हटायो। कुनै विकल्प नभएपछि फेरि घर–टहरा बनाएका छन्। तर, कतिञ्जेल बस्न पाउने हो ? टुंगो छैन।

विस्थापित बासीन्दाको सामूहिक माग छ, ‘सरकारले स्थायी बस्ने ठाउँको व्यवस्था गरिदिओस्,’ दुईपटक विस्थापित भइसकेको पीडा पोख्दै ७० वर्षीया तिलमाया लिम्बूले भनिन्, ‘स्थायी ठाउँमा बस्ने आशैआशमा जीवन जाने भो।’ विस्थापितले सधैंभरि पीडामा बस्नुपरेको छ। ‘सिँचाइले घर–टहरा हटाउने चिन्ताले सताइरहन्छ,’ उनले भनिन्।

दिवंगत प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, शेरबहादुर देउवा, माधवकुमार नेपालसँगै गगन थापा, रकम चेम्जोङ र सुनसरीकै नेता भीम आचार्यलाई थुप्रैपटक भेट गरेर समस्या राखियो। तर, कोहीद्वारा पनि मल्हम लगाउने काम भएन। सुनसरी त्यसमाथि पनि हाम्रै क्षेत्रका नेता भीम आचार्यलाई काठमाडौंमा पुगेर भेट्दा पनि केही सहयोग पुगेन।

स्थानीयले स्थायी बसोबास भएदेखि दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्न पनि राहत हुने सुनाए। विस्थापित बासिन्दा दैनिक ज्यालादारी काम गरेर परिवारको जीविकोपार्जन गर्ने गर्छन्। ‘स्थायी बसोबास भए ज्याला मजदुरी गरेर खादा पनि आनन्द पक्कै हुने थियो,’ विस्थापित बलराम गिरीले भने, ‘राजनीतिक दलका शीर्ष नेतालाई भेटेर पीडा सुनाउँदा पनि कसैले गम्भीररूपमा लिए जस्तो लागेन।’ उनका अनुसार, दिवंगत प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, शेरबहादुर देउवा, माधवकुमार नेपालसँगै गगन थापा, रकम चेम्जोङ र सुनसरीकै नेता भीम आचार्यलाई थुप्रैपटक भेट गरेर समस्या राखियो। तर, कोहीद्वारा पनि मल्हम लगाउने काम भएन। ‘सुनसरी त्यसमाथि पनि हाम्रै क्षेत्रका नेता भीम आचार्यलाई काठमाडौंमा पुगेर भेट्दा पनि केही सहयोग पुगेन,’ उनले भने। उनका अनुसार, अब एकपटक प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र बुझाउने योजना बनाएका छन्।

‘सामान्य समस्यामा परेका नागरिकलाई राज्यले चासो लिएको छ। तर, हामीजस्तो समस्या परेकालाई चासो नदिँदा दोस्रो दर्जाका नागरिक पो हौं कि जस्तो लाग्छ,’ विस्थापित रत्ना राईले भनिन्। २०६३ सालमा माओवादीले सशस्त्र आन्दोलन त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरिसकेको थियो। लगत्तै, तराईमा भूमिगत सशस्त्र समूह बग्रेल्ती गठन भए। तिनै भूमिगत समूहले त्रासले त्यतिबेलाको हरिपुरबाट स्थानीय विस्थापित भएका थिए। विस्थापितमध्ये बराह नगरपालिका क्षेत्रमै ५८ परिवार शुरुवातमा बसेका थिए । तीमध्येपनि अहिलेवडा नं. ३ को सुनसरी–मोरङ सिचाईं आयोजनाको चतरा नहरको जग्गा ओगटेर १२ परिवार मात्र बस्दै आएका छन्।

विस्थापित हुँदाको क्षण सम्झेर भक्कानिदैं बलरामले भने, ‘आफन्तले सहयोग गर्नेजति अन्यत्र हिँडे पनि हामी नहुने नहरको डाँडो रुघेर बस्दै आएका छौं।’ त्यतिबेला भूमिगत समूह मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले राति भएपछि कन्चटमा गोली ताक्थे, चेलीबेटीप्रति कुदृष्टि राख्ने, खोरमा पालेका कुखुरा र खसी रातभरि काटेर मस्ती गर्ने गर्थे।

मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले स्थानीयलाई पीडा दिनुका साथै २०६४ साल साउन १४ गते राति त टेकबहादुर कुवँरलाईं गोली हानेर हत्या नै गरे । मधेसी टाइगर्सको निसानामा बलराम गिरी पनि परेका थिए। टेकबहादुरलाई हत्या गरेको १३ दिनपछि परिवारकै सदस्यले बलरामलाई भगाएर अन्यत्रै राखे।

गाउँलेबीचमा के गरौं र कसो गरौं भन्ने भयो। २०६४ कात्तिक महिनामा सुनसरी हरिपुर–१ बाट ५८ परिवार एकै दिन घर छाडेर हिँडे । खाली जग्गा खोजी गर्ने क्रममा नहरको जग्गामा बसे। त्यतिबेला एकैपटक विस्थापित भएका अहिले बराहक्षेत्र वडा नं. ३ मा १२ परिवार बस्दै आए पनि अरु भने बराहक्षेत्रकै चतरा, कोही मोरङको उर्लाबारी, लक्ष्मीमार्ग र झापाको विभिन्न स्थानमा बसोबास गर्ने गरेका छन्। केही परिवार भने आफ्नो पुख्यौली थलो पहाड नै फर्किएका छन्। विस्थापित जहाँ बसे पनि पीडितले अहिलेसम्म सरकारी पक्षबाट केही पाएका छैनन्। पीडित सरकारी निकायको न्यायको पर्खाइमा छन्। ‘सबै खाले पीडितको माग सम्बोधन भएका छन्। हामै्र छेउमा कोसीपीडित बस्छन्। तिनीहरूको पनि पीडा केही हदसम्म सम्बोधन भएका छन,’ चक्रबहादुर कुरुवाङले भने, ‘खोइ हाम्रो चाँहि के हुने हो?’

प्रकाशित: २६ कार्तिक २०७५ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App