समाज

जङ्गली हात्तीको झुण्डले घर भत्कायो

कञ्चनपुर - कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काएकाे छ। गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह राना लगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो। हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ। लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ। घर नजिक लगाएको तरकारी नष्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्का समेत हात्तीको झुण्डले उखेलेको छ।

राति १२ बजे २० भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो। हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए। खेतमा धान खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग समेत गरेका छन्। रासस

प्रकाशित: २३ कार्तिक २०७५ ०९:२९ शुक्रबार

कञ्चनपुर हात्ती