समाज

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

लहानको एक पसलमा भेटिएको म्याद गुज्रिएका पेय पदार्थ । तस्बिरः मिथिलेश/नागरिक

लहान – चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ।

दिपावली र छठ पर्व नजिकिँदै जाँदा यस क्षेत्रका बजारमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने म्याद गुज्रिएका पेय तथा खाद्य समान बिक्री भइरहँदा पनि नियामक निकाय मौन बसेको छ।

लहान बजार क्षेत्रमै अखाद्य सामान र म्याद गुज्रिएका पेय पदार्थ बिक्री भइरहेको जानकारी हुँदा पनि नियामक निकाय चुपचाप छ।  सहरकै बजारको यस्तो बेहाल छ भने ग्रामीण बजारको अवस्था के होला ? लहानका उपभोतmा निरज यादवले भने। बजार बिस्तार हुने क्रमसँगै लहानका व्यापारीले यस भेगका ग्रामीण क्षेत्रका बजारमा दैनिक उपभोग्यलगायत पेय पदार्थ आपूर्ति गर्दै आएका छन्।

लहानका अधिकत्तर उपभोक्ता सचेत छन् तर, उनीहरूले पनि सामान खरिद गर्दा म्याद हेर्दैनन्। अधिकत्तर उपभोक्ता म्याद नहेरी समान खरिद गर्छन् लहानका एक व्यापारीले भने,‘कोकाकोला, फ्यान्टा र स्प्राइटलगायतका पेय पदार्थ डिलरले नै म्याद गुज्रिएको दिए। म्याद गुज्रिएको ती पेय पदार्थ जम्मा पारेर राखेको छु, डिलरका मान्छे आएपछि फिर्ता गर्छु, उनले भने। प्लास्टिकमा प्याक भएका पेय पदार्थको म्याद उत्पादन मितिले अधिकत्तम अढाई महिना उल्लेख छ।’ केहि दिन अघि इलाका प्रशासन कार्यालय लहानले लहान बजार अनुगमन गरेको जनाएको छ। तर, अनुगमनका बेला अनुगमन टोलीले यी म्याद गुज्रिएका पेय पदार्थहरु फेला पार्न सकेनन्। औपचारिकता मात्र पुरा गर्न गरिएको अनुगमनले अनियमितता कहाँ फेला पर्न सक्छ, लहानका एक पसलले भने। अनुगमन भएपछि बजारमा आखाद्य बस्तु र म्याद गुज्रिएका पेय पदार्थ नियन्त्रण नहुँनुले अनुगमन औपचारिकतामै सीमित भएको प्रष्ट हुन्छ, ती पसलले भने। 

अनुगमन नै नहुने भएपनि औपचारिकता पुरा गर्ने हिसाबले एक–दुई पसलमा पसेर निस्किने प्रवृतिका कारण यस भेगका बजारमा उपभोक्ता ठगिन बाध्य बनेको स्थानीय अशोक यादवले बताए।

सामान्य लेखपढ गरेका सर्वसाधारणलाई थाहा नहुँदा प्रयोग गर्ने समय सकिएको महिनौ बितिसकेका चाउचाउ, बिस्कुट, कोकाकोला, फ्यान्टा, जुसलगायताका बस्तु बिक्री भइरहेका छन्। लहानका अधिकृत बिक्रेताले ग्रामीण बजारमा खाद्यान्न पेयपदार्थ लगायतका वस्तु पठाउने गरेका छन्। तर ती वस्तु उपभोग्य समय छ कि छैन ? ग्रामीण क्षेत्रमा पुग्दा म्याद गुज्रिसकेको हुन्छ कि हुँदैन ? घाम पानीले असर पुग्ने हो कि होइन ? अधिकृत बिक्रेतालाई वास्तै हुँदैन। अधिकृत बिक्रेता कहाँ आइपुग्दै म्याद सकिन थोरै समय भएका वस्तु अहिले ग्रामीण बजारमा पुग्ने गरेको एक व्यापारीले बताए।

म्याद सकिएपनि ग्रामीण तथा सहरी क्षेत्रका उपभोक्ता बाध्य भएर तिनै वस्तुको प्रयोग गर्न बाध्य भइरहेका छन्। ‘बजार अनुगमन नगर्दा यस्तो भएको हुन सक्छ, अब बजार अनुगमन गर्नुपर्छ’ ईलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईले भने। उपभोक्ता शिक्षा नहुँदा सर्वसाधारण उपभोक्ता सचेत छैनन्। सर्वसाधारणले प्रयोग गर्ने वस्तु चुस्त दुरुस्त हुनुपर्छ भन्ने कानुन बनेको छ। तर निमयन गर्ने निकायले नियन्त्रण गर्न नसक्दा सधैं ग उपभोक्ता ठगिने गरेको उपभोक्ता चन्दन यादवले बताए।

‘गाउँका सर्वसाधारणलाई चाउचाउ, विस्कुट, पेय पदार्थको म्याद हुन्छ भन्ने कहाँ ज्ञान हुन्छ,’ बरियापट्टी गाउँपालिकाका दिपेन्द्र यादवले भने, ‘ग्रामीण बजारमा किनमेल गर्न आउने उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको म्याद सकिन्छ भन्ने हेक्का नै हुँदैन।’

‘व्यापारीलाई म्याद गुज्रिएको, खान अयोग्य, अस्वस्थकर वस्तु बिक्री नर्गन भनिएको छ,’ जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले भने, ‘यस अघिपनि पेय पदार्थ सप्लाइ गर्ने व्यापारी व्यवसायीलाई त्यसो नर्गन सचेत गराइएको छ, फेरी पनि कुरा गर्छु।’ बजारका पसलमा भएका म्याद गुज्रिएका सामान डिलरले उठाउनुपर्छ, उनले भने। म्याद गुज्रिएका सामान उपभोक्ताको हात्तमा नपर्न दिन डिलर्स र खुद्रा व्यापारी समेत सचेत हुनुपर्ने उनले बताए।
 

प्रकाशित: १४ कार्तिक २०७५ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App