समाज

जमराको जुसप्रति सर्वसाधारणको आकर्षण

हरिवन बजारमा जमाराको जुस तयार पार्दै ऋषिराम दाहाल । तस्बिरः टंक/नागरिक

सर्लाही – सामान्यतया जमारा भन्ने वित्तिकै हिन्दुहरूको महान चाड विजया दशमीका दिन कानमा सिउरीनका लागि घटस्थापनाका दिन हरेक घर–घरमा राखिन्छ। अनि विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म निधारमा टिका लगाएसँगै कानमा जमारा सिउरीनु सदियौंदेखिको प्रचलन हो।

अहिले पनि नजिकिदो विजया दशमीका दिन कानमा सिउरीनका लागि घटस्थापनाका दिन सर्वसाधारणले घर–घरमा जौ, गहुँ र मकै छरेर जमारा उमारिरहेका छन्। तर हरिवन बजारमा भने कानमा सिउरिने जमाराको जुस खानका लागि सर्वसाधारणबीच आकर्षण बढेको छ। दनुवारी टोलका ऋषिराम दाहाल हरेक दिन बिहान हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा टेबुल थापिहाल्छन्। अनि टेबुलमा जमरा, जमरा पेल्ने उपकरण, अम्खरा र गिलास राखेपछि जुस पेल्छन्। जुस खाने सर्वसाधारणको लाम लाग्छ।

झण्डै २ महिना पुग्न लाग्यो उनले जमाराको जुस बेच्न थालेको। ‘दैनिक खान आउने ६० जनाभन्दा बढी भइसके’, नागरिकसँग उनले भने, ‘माहिनाबारी नै खाने पनि २० जनाभन्दा बढी छन्।’ जौ र गहुँको जमाराको जुस खाने ग्राहक क्रमशः बढ्दै गएको उनले सुनाए। क्यान्सर, रक्तअल्पता, उच्च रक्तचाप, मधुमेह, पायल्स, ग्याँस्टिक, अल्सर, मुटु, कलेजो, किड्नी, अनुहारमा आउने चायाँ, पोतो, डण्डिफोर सहित छाला सम्बन्धी रोगमा जमाराको जुसले निकै फाइदा पुर्याउने दाहालको दाबी छ।

आफ्ना ज्वाँइलाई अस्पतालमा उपचार गराउँदा मुटु रोगमा कुनै सुधार नभएको तर जमाराको जुस खुवाउँदा ५–७दिनमै निकै फाइदा पुगेको दाहालले बताए। ‘मुटुरोगबाट पीडित ज्वाँइ साहेबलाई जमाराको जुस खुवाएपछि निकै फाइदा पुग्यो’, उनले भने, ‘अनि यो त राम्रो कामपो रहेछ भनेर आफैंले जमाराको जुसको व्यापार थाले।’ झण्डै डेढ महिनादेखि दाहालले तयार पारेको जमाराको जुस खाएका हरिवनबजार निवासी सन्तोष श्रेष्ठ निकै सन्तुष्ट देखिन्छन्। ‘मलाई त जमाराको जुस खाएपछि साह्रै आनन्द भएको छ’, श्रेष्ठले भने, ‘उच्च रक्तचाप र पायल्स त पुरै कन्ट्रोल भएको छ, अब बाँचुञ्जेल नियमित खान्छु।’ त्यस्तै हरिवन पर्ताटोलका अशोक थापापनि धेरै खुसी छन्। 

उच्च रक्तचापबाट पीडित थापाले जमाराको जुस सेवन गर्न थालेपछि आफूलाई निकै फाइदा पुगेको बताए। ‘जमाराको जुस त कस्तो अचुक औषधी रहेछ’, उनले भने, ‘ब्लड प्रेसर त मज्जाले नियन्त्रणमा आयो, डाक्टरको औषधी खाँदा कन्ट्रोलमा आउन कठिन हुन्थ्यो।’ जमाराको जुस नियमित सेवन गर्दै आएका दिनेश केसीले पेटको समस्या ठिक भएको र हालखाना रुची अत्यन्त बढेको बताए। ज्वाँइलाई जमाराको जुस खुवाउनका लागि काठमाडौं सामाखुशीस्थित सिता भट्टराइको पसलमा पुगेका दाहालले त्यही सिकेर आफ्नाे गाउँमा सोही व्यवसाय सुरु गरेका हुन्। ‘यस्तो राम्रो औषधी रहेछ’, दाहालले भने, ‘त्यसैले मैले सुरु गरेँ, अहिले नियमित जुस सेवन गर्ने सबैजना सन्तुष्ट र निकै खुसी हुनुहुन्छ।’

न्यून रक्तचाप भएकालाई २० एमएल जौ तथा १० एमएल गहुँको जमाराको जुस मिलाएर कुल ३० एमएल दिने गरेको तथा उच्च रक्तचाप भएकालाई ३० एमएल नै जौको जुस दिने गरेको उनले बताए। दाहालले प्रति ३० एमएल ५० रुपैयाँ लिने गरेका छन्। हाल ९ वटा क्यारी बनाएर आफ्नै घरमा जमारा उमार्ने गरेका दाहालले जुस पिउने ग्राहक बढ्दै गएकाले गाउँका अन्य सर्वसाधारणलाई जमारा उमार्न लगाएर किन्ने योजना रहेको समेत बताए।

प्रकाशित: २९ आश्विन २०७५ ०९:२५ सोमबार

जमराको_जुस सर्वसाधारण सर्लाही