समाज

घटनास्थलमा प्रहरीको गम्भीर लापरबाही, थप २ प्रहरी निलम्बित

काठमाडौ –प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ। 

कार्यालयले गम्भिर लापरबाही गरेको भन्दै उक्त घटनाकाे अनुसन्धानमा संलग्न थप २ जना प्रहरीलाई निलम्बनसमेत गरेको छ। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत घटनास्थल अनुसन्धान अधिकृत प्रहरी नायव निरिक्षक हरसिंह  धामी र  प्रहरी जवान चाँदनी साउद छन।

स्थानीयले समेत उनीहरुमाथि घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काम मा सक्रिय रहेका आरोप लगाउँदै आएका थिए।। पन्तको हत्याको सम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका छनविन गर्न प्रहरी प्रधान कार्यालयले एक छानविन समिति गठन गरेको थियो।

छानविन समितिकै सिफारिसमा उनीहरुलाई निलम्बन गरिएको केन्द्रिय प्रवक्ता शैलेश थापाले जानकारी दिए। ‘साउद र धामीले घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरबाही गरेको पाइएएकाले उनीहरुलाई प्रहरी नियमावली अनुसार निलम्बन गरिएको हो,’ प्रधानकार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  यस अघि एपी डिल्लीराज विष्टसहित पाँच जना प्रहरी निलम्बनमा परिसकेका छन्। 

भिमदत्त नगरपलिका २ उल्टाखामकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धानमा प्रमाण संकलन गर्नुको साटो लोप गर्नेतर्फ लागेको भन्दै प्रहरी संगठनकै आलोचना हुँदै आएको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०६:०७ सोमबार

निर्मला_पन्त घटनास्थल_अनुसन्धान लापरबाही प्रमाण