समाज

जाजरकोट–डोल्पा सडकको स्थलगत अनुगमन

डोल्पा – डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट–डोल्पा सडकखण्डको स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका लागि सेनाको हेलिकप्टरबाट डोल्पा पुगेका महालेखा परिक्षकको कार्यालयका प्रमुख दामोदर पुडासैनी, रक्षा मन्त्रीको नीजि सचिबालयबाट प्रभात विक्रम कटुवाल, रक्षा मन्त्रालयका सह–सचिव तुलसीराम सेडाई, अर्थ मनत्रालयका उपसचिव तिर्थराज सिलवाल, भौतिक पूर्वधार तथा तायायात मन्त्रालयका सह–सचिव राजेन्द्र शर्मा लगायतको टोली पुगेको थियो।

जाजरकोट–डोल्पा सडक एकसाता अगाडि मात्रै अन्तिम भीरको रुपमा निर्माणकार्य भइरहेको तरपरे भिर छिचोलेर पूर्ण रुपमा ट्रयाक खुलाइएको थियो। अनुगमन टोलीले जाजरकोट–डोल्पा सडकखन्ड अन्तर्गतको खदाङ त्रिपुराकोट खण्डको चिप्लेभीरमा हेलिकप्टर अवतरण गरेर सडकको स्थलगत अनुगमन गरेको जाजरकोट डोल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए।

थुप्रै भौगोलिक कठिनाइका बाबजुत पनि आँखा घुमाउने भीर खोपेर चौडा गाडी गुड्ने सडक निर्माण गरेको भन्दै अनुगमन टोलीले सेनाको प्रशंसा समेत गरेको थियो। डोल्पा जोड्ने सडकको पूर्ण रुपमा ट्रयाक खुलिसकेकाले जिरो पोइन्टको रुपमा रहेको जाजरकोटको पासगाडदेखि डोल्पाको दुनैसम्म सिधा यातायात सञ्चालनमा ल्याउन सडकको बीचबीचमा पर्ने खोलाहरूमा पक्की पुल निर्माणमा जोड दिइने अनुगमन टोलीले जनाएको छ। तिहारभित्रै जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको सेनाले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७५ १०:०३ आइतबार

जाजरकोट–डोल्पा_सडक स्थलगत_अनुगमन