उयदपुर – सुनकोसीमा पौडी खेल्न गएका उदयपुरका एक किशोर बेपत्ता भएको २४ घण्टा बित्दासम्म फेला परेका छैनन्। कटारी नगरपालिका र ओखलढुंगाको सीमाना भएर बग्ने सुनकोसीमा शनिबार दिउसो पौडी खेल्न पसेका कटारी १० सोरुङछविसेमा १७ वर्षीय पदम कार्की पौडी खेल्ने क्रममै डुबेर बेपत्ता भएका थिए।
साथीहरुसँग पौडी खेल्न पसेका कार्की कोसीमा डुबेर बेपत्ता भएको खवर पाएलगत्तै गएको प्रहरी र स्थानीयले खोजी गर्दा फेला नपरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका कटारीका डिएसपी ध्र्रुबकुमार श्रेष्ठले कार्की डुबेपछि सँगै पौडी खेल्ने साथीहरुले निकाल्ने प्रयास गरेको तर, नसकेको खबर आएलगत्तै स्थानीय प्रहरी चौकी घुर्मी र आफुसहितको टोली पुगेर खोजी गर्दा फेला नपरेको बताए।
उनको खोजीमा शनिबार रातिसम्म प्रहरी र आफन्तले कोसीको तलतलसम्म खोजी गर्दा नभेटिएपछि टोली फर्केको र आइतबार पनि विहानैदेखि खोाजी कार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। उनको खोजीमा इप्रका बाहेक घुर्मी, बेतीनी र सोरुङछविसेका ४ वटै युनिटका प्रहरी परिचालन गरिएको छ भने बाउ मधुकर कार्कीलगायत स्थानीय पनि खटिरहे पनि नभेटिएपछि मृत्यु भएको अनुमान गरिएको छ।
दसैं नजिकिएका बेला ज्याला मजदुरी गरी गुजारा गर्दै आएको कार्की परिवार छोरा कोसीमा बेपत्ता भएपछि थप मर्माहत भएको स्थानीयहरुको भनाई छ। कार्की बेपत्ता भएपछि स्थानीय पिपलगाछी युवा क्लबले आयोजना गरेको दसैं फुटबल प्रतियोगितासमेत प्रभावित भएको छ। सँगै खेल्ने साथी कोसीमा बेपत्ता भएपछि प्रतियोगिता ज्यादै खल्लो भएको र दसैं पनि नरमाईलो हुने क्लवका सचिव भोजराज मगरले बताए।
प्रकाशित: २१ आश्विन २०७५ ०७:०० आइतबार