समाज

प्रमाण लुकाउनेलाई कारबाही माग

काठमाडौं – ‘निर्मलाका लागि न्याय अभियान’ ले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई तुरुन्त पक्राउ र कारबाही गर्न माग गरेको छ। अभियानले सरकारले अनुसन्धानका नाममा जनताको आँखामा छारो हालिरहेको आरोप लगाउँदै सो हत्याकाण्डको प्रमाण लुकाउनेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको हो। निर्मला हत्याको ७० दिन बितिसक्दा पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरिएकोमा अभियानले सरकारसँग गम्भिर आक्रोश पोखेको छ। आधा दर्जन निर्दोष मानिसलाई पक्राउ गरेर यातना दिएको तथा वास्तविक अपराधीलार्ई सरकारले संरक्षण गरिरहेको आरोप अभियानले लगाएको छ।

प्रहरीदेखि मन्त्रालय स्तरसम्मका पाँचवटा छानबिन समिति बनाउँदा पनि समितिको प्रतिवेदन सार्वजनिक नगरेकोमा अभियानले आपत्ति जनाएको छ। ‘अहिले महेन्द्रनगरमा के भइरहेको छ ? सरकारले कहिले जवाफ दिने हो ? बलात्कारी र हत्यारा को हो ? किन प्रमाण मेटाउने काम भयो ? अपराधी यतिका दिनसम्म किन पत्ता लागिरहेको छैन’, अभियानमा आबद्ध अधिकारकर्मी शारदा चन्दले प्रश्न गरिन् । शान्तिपूर्ण आन्दोलनका क्रममा एक नागरिकको ज्यान गएकोे प्रति दुःख व्यक्त गर्दै उनले अब पनि सरकारले वास्तविक अपराधीलाई सार्वजनिक नगरे हजारौं महिला सडकमा उत्रने बताइन्।

अभियानले आगामी शनिबार दिउँसो १ बजे राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम बनाएको छ। अभियानले निर्मला बलात्कार तथा हत्याकाण्डको सुरु अनुसन्धानको नेतृत्व गर्ने एसपी डिल्लिराज बिष्टलगायतलाई विभागीय कारबाहीमा मात्र सीमित नराखी फौजदारी कानुनको दायरामा तत्काल ल्याउन समेत माग गरेको छ। महिलाविरुद्ध हुने सम्पूर्ण अपराधका सम्बन्धमा सरकारका तर्फबाट बहस पैरबी गर्ने विशेषज्ञ सरकारी वकिलको व्यवस्था गर्न पनि अभियानले माग गरेको छ।

प्रकाशित: २० आश्विन २०७५ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App