समाज

सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाउने

काठमाडौं– सरकारले यौनजन्य अश्लील सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ। 

‘इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान–प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको स्मरण गराउँदै यौनजन्य अश्लील सामग्रीको नेपालभित्र पहुँच रोकिने स्पष्ट पारेको हो।

अश्लील सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान–प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्तालाई मन्त्रालयले आग्रह समेत गरेको छ।

यस्तो छ सञ्चार मन्त्रालयको विज्ञप्तिः

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ। इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्दछ। त्यस्ता सामग्रीहरुमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुचँमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु बन्द गर्न आवश्यक भएकोले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न यस मन्त्रालयले नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। 

यस्ता अश्लील सामग्रीहरुको विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्ता लगायत सवैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ।

रामचन्द्र ढकाल
सह सचिव/प्रवक्ता

प्रकाशित: ५ आश्विन २०७५ ११:२४ शुक्रबार

प्रतिबन्ध बलात्कार_र_हिंसा अश्लील_सामग्री