समाज

पुल नहुँदा भेरीमा जोखिमपूर्ण यात्रा, २१ वर्षमा १४ जनाले ज्यान गुमाए

सुर्खेत - भेरीगंगा नगरपालिका १ का स्थानीयहरु सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्छन्। वर्खाको भेलमा पनि ट्यूव मार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता यहाँका नागरिकसँग छ। भेरी नदी पार गर्ने क्रममा २०५४ सालयता १४ जनाले ज्यान गुमाइसकेका छन्।

भेरीगंगा नगरपालिका अन्तर्गतका आदी, बसेरा, सालघारी, बारुले, घुमाउने, सिसौ, ढाप, सुनकाउली, मनिरामकाँडा लगायत गाउँका २२ सय भन्दा बढी घरधूरीका स्थानीयहरु पुलको अभावमा ट्यूव मार्फत भेरीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका स्थानीयहरुलाई सदरमुकाम आउन छोटो मार्ग नै ट्यूव हो।

नजिकमा झोलुङ्गे पुल नहुँदा ट्यूवमार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। अघिल्लो वर्ष ट्यूव मार्फत भेरीको उर्लदो भेल पार गर्ने क्रममा बसेरीका कल्पना राना र नरबहादुर बुढामगरले ज्यान गुमाए। स्थानीय २२ सय घरधूरीका अगुवाहरु झोलुङ्गे पुल माग्दै स्थानीय तहदेखि संघीय सरकारसम्म पुगे तर उनीहरुको माग अहिलेसम्म पूरा हुन सकेको छैन्।

‘भेरी नदी वारपार गर्दा अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेका छन्’ भेरीगंगा नगरपालिका १ का वडा सदस्य हरिबहादुर थापाले भने, ‘स्थानीयदेखि संघीय सरकारसम्म पुगेर झोलुङ्गे पुलको माग गरेपनि अहिलेसम्म पूरा हुन सकेको छैन्।’ झोलुङ्गे पुलको माग गर्दै १६३ परिवारले स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

झोलुङ्गे पुलको माग गर्दै स्थानीय हरे बुढाको संयोजकत्वमा समिति गठन गरिएको छ। ‘हरेक वर्ष भेरीमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्न र संघीय राजधानी समेत रहेको वीरेन्द्रनगरसँगको यात्रा सहज बनाउन समिति गठन गरेका हौं’ संयोजक बुढाले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारसँग पुल बनाइदिन माग गर्दै ज्ञापनपत्र र मागपत्र बुझाउँदा पनि सुनुवाई भएको छैन्।’

बुढाका अनुसार भेरीगंगा नगरपालिका १ र वीरेन्द्रनगर नगरपालिका ९ जोड्ने पुल नहुँदा ट्यूवको सहारा लिनुपर्ने बाध्यता छ। ‘२१ वर्षको अवधिमा १४ जनाले भेरी तर्ने क्रममै ज्यान गुमाइसकेका छन्’ बुढाले भने, ‘पुल नबने अझ कतिले ज्यान गुमाउनुपर्ने हो थाहा छैन्।’ स्थानीयहरुले मागपत्रमा २१ वर्षको अवधिमा ज्यान गुमाएका व्यक्तिहरुको विवरण पनि राखेका छन्।

२०५४ सालमा ट्यूव पल्टिएर उर्मिला शर्माले ज्यान गुमाइन् भने २०५५ सालमा ललिराम जैशीको ज्यान गयो। २०५६ सालमा नरेन्द्र शर्मा, अमृता घर्ती, २०५७ सालमा कृपाराम जैशी, २०५८ मा दिनेश रावत, २०५९ मा रामबहादुर थापा, २०६९ मा भोजबहादुर राना, हरिबहादुर कार्की, २०७२ मा बलबहादुर रामजाली, २०७३ मा हरिबहादुर थापा, बैकुण्ठ थापा र २०७४ मा कल्पना रानाका साथै नरबहादुर बुढामगरले ज्यान गुमाएका छन्। पुल नहुँदा हरेक वर्ष भेरीमा ज्यान गुमाउनु पर्ने बाध्यता त छँदैछ, त्यसमाथि यहाँका उत्पादनको समेत बजारिकण हुन सकेको छैन्।

 

प्रकाशित: २७ भाद्र २०७५ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App