समाज

प्राविधिक शिक्षामा लहर

जुम्ला – पछिल्लो समयमा जुम्लाका स्थानीय सरकारमा प्राविधिक शिक्षाको लहर चलेको छ। चार वटा स्थानीय सरकारले यसै वर्षदेखि प्राविधिक शिक्षा सञ्चालन गरेका हुन्। यहाँका  ८ वटा स्थानीय तहमध्ये चार स्थानीय तहमा प्राविधिक शिक्षा शुरु भइसकेको छ। 

कर्णालीकै पुरानो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय रहेको जुम्लामा प्राविधिक शिक्षाको क्षेत्र झनै फराकिलो भएको स्थानीय बताउँछन। अहिले कर्णालीका अधिकांश जिल्लामा कर्णाली प्राविधिक शिक्षालयले उत्पादित जनशक्तिले काम चलाइरहेको थियो। अहिले स्थानीय सरकारले प्राविधिक शिक्षामा जोड दिन थालेपछि झनै सहज भएको हो। 

जिल्लाको तातोपानी, कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको हो।  प्राविधिक शिक्षाका लागि चाहिने आवश्यक बजेट तथा पूर्वाधार निर्माणका लागि नीति कार्यक्रम तथा बजेटमा व्यवस्था भइसकेको छ।  प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको गुठचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए।  पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको मोह बढ्दै गएकाले गाउँमै प्राविधिक शिक्षा सञ्चालन गरिएको पातारासी गाउँपालिका अध्यक्ष लक्ष्मण बोहोराले बताए।  

तातोपानी गाउँपालिकाको कालिका मावि ताम्तीमा बाली विज्ञान,हिमशिखर मावि तातोपानीमा ओभरसीयर पढाई शुरु भएको छ। हिमशिखर माविमा सब–ओभरसीयर पढाइका लागि ३७ लाख वजेट छुट्याइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए। कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी माविमा पशु विज्ञान कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। त्यस्तै, पातारासी गाउँपालिकाको सरस्वती मावि रिनीमा पनि बाली विज्ञान पढाइ शुरु भइसकेको छ।

गाउँमै रोजगारीदेखि प्राविधिक शिक्षा सञ्चालनको व्यवस्थाले यहाँका विद्यार्थीले राहत महसुस गरेका छन्।  यो वर्ष जुम्लाका पातारासी, गुठिचौर, तातोपानी र कनकासुन्दरीका विद्यार्थीले बाहिर पढेभन्दा सस्तोमा पढ्न पाएका छन्। बढीमा ४० सिटका  लागि पढाई भइरहेको छ। 

 

प्रकाशित: २७ भाद्र २०७५ ०६:१० बुधबार

जुम्ला प्राविधिक_शिक्षा