समाज

सिआइबीले समात्यो फरार दोषी

इलाम – जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।

झापाको कन्काई नगरपालिका–३ (साविक सुरुंगा गाविस–५) घर भएका तिम्सिनालाई झापा जिल्ला अदालतले २०७२ मंसिर १२ मा ५ वर्षको कैद फैसला सुनाएको थियो।

स्थानीय महिलालाई जवर्जस्ती करणी गरेको घटनापछि फरार रहेका तिम्सिनाको खोजी गर्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोली इलाम आएका बेला उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टंक भट्टराईले जानकारी दिए। ‘पक्राउ परेका व्यक्तिलाई सोमबार नै जेल चलान गरिएको छ,’ डिएसपी भट्टराईले भने।

तिम्सिनाले २०७० असोज १५ गते एक महिलामाथि जवर्जस्ती करणी गरेको आरोप थियो। आरोपपछि उनी केही वर्ष वैदेशिक रोजगारीमा समेत गएर फर्केको डिएसपी भट्टराईले जानकारी दिए। ‘फरार तिम्सिना ताप्लेजुङमा छन् भन्ने सूचनाका आधारमा सिआइबीको टोली त्यतै जाँदै गर्दा उनी इलाममै फेला परेका हुन्,’ भट्टराईले भने। 

 

प्रकाशित: २५ भाद्र २०७५ ११:१५ सोमबार

सिआइबी जवर्जस्ती_करणी इलाम