समाज

हेलिकप्टर दुर्घटना (अपडेट) : पाँच जनाकाे शव फेला, एक गम्भीर घाइते

दुर्घटनामा परेकाे हेलिकप्टर । तस्विर : सुकराम तामाङ

काठमाडाैं - गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुने पाँच जनाको शव फेला परेको छ भने एक महिला गम्भिर घाइते अवस्थामा फेला परेकी छन्। यस्तै एकजनाको अवस्था भने अज्ञात रहेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले घटनास्थलबाटै जानकारी दिए।

दुुर्घटनामा पाइलट निश्चल केसीको ज्यान गएको हो। उनको शव दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हेलिकप्टर भित्रै फेला परेको थियो। यस्तै गम्भीर घाईते हुनेमा ल्हो आनी डोल्मा डिकी रहेकी छिन्। हेलिकप्टरमा सात जना सवार रहेको बताइएपनि कति जना रहेका थिए भन्ने बारे जानकारी लिइरहेको उपरीक्षक कुँवरले जानकारी दिए।

गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट उडेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा पर्ने नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उपरीक्षक कुँवरले बताए। हेलिकप्टरमा एक जापानी नागरिक समेत सवार रहेका थिए। 

 

प्रकाशित: २३ भाद्र २०७५ १०:१० शनिबार

हेलिकप्टर_दुर्घटना