समाज

६ बर्षसम्म छोराको हत्यारा खोजीका लागी भौतारिदै बुवा

छाेरा ओमप्रकासकाे हत्यारा पत्ता लगाउँन माग गर्दै बुवा श्रीकृष्ण पन्त। फाइल फाेटाे

धनगढी – धनगढीका ओमप्रकास पन्तको हत्या भएको छ वर्ष भयो। हत्या भएको लामो समय वितिसक्दा पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन।

छोराको हत्यारा पत्ता लाग्न नसक्दा बुवा श्रीकृष्ण न्यायको लागि भौतारी रहेका छन्। उनलाई छोराको हत्यारा पत्ता लगाएर कारवाही गरी छोराको आत्मालाई शान्ती दिलाउने धोको छ।

छ बर्षदेखि लगातार घटनाको छानविन गरी छोराको हत्यारालाई पत्ता लगाउन भनेर प्रहरी, मानवअधिकारीवादी, पत्रकार, राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्री कसैलाई गुहार्न बाँकी राखेका छैनन्। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा छोरा मृत अवस्थामा फेला पर्नु र हत्यारा पत्ता नलाग्नुले उनी ६ बर्षमा निकै गलेका छन्। तर हत्यारा पत्ता लगाउने कोशिस भने छोडेका छैनन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर छोराको हत्याको छानविन पुन गरिदिन उनले माग गरेका छन्।

‘प्रहरीको लापरवाहीले नै मेरो छोराको हत्यारा अहिलेसम्म पक्राउ नभएको हो’, उनले भने, ‘कंचनपुरको घटनाले तातेको माहोलामा मैलै पनि न्याय पाउन्छुकी भनेर पत्रकार सम्मेलन गरेको हुँ।’ केही दिन अघि कैलालीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर छानविनको लागी अनुरोध गरेको उनले बताए। कंचनपुरको निर्मलाकै जस्तो प्रहरीले शुरुमा लापरवाही गरेकाले प्रमाण नष्ट भएको उनी बताउछन्।

‘तत्कालिन प्रहरी उपरिक्षक घनश्याम अर्यालले मलाई एक महिनामा हत्यारा पत्ता लगाएर सार्वजकि गर्छु भनेका थिए’, उनले भने, ‘त्यसपछि पनि म सबै प्रहरी प्रमुख काहा धाइरहेपनि हत्यारा पत्ता लागेको छैन।’ प्रहरीले भने पन्तको हत्या वा आफै मृत्यु भएको हो भनेर खुल्न नसकेको बताउँदै आएको छ।

घटना यस्तो थियो
२०६९ मंसिर २५ गते राती १२ बजेतिर धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी निवासी २६ बर्षिय ओमप्रकाश पन्त मलाई मार्न आउदैछन भन्दै घरवाहिर निस्के। घरमा रहेकी उनकी बहिनीले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गर्दा ड्युटीमा रहेको प्रहरीले घटना गंभिर रुपमा लिनुभन्दा उल्टै जिस्क्याए। त्यसको भोलीपल्ट २६ गते धनगढी उपमहानगरपालिका ४ को मूल केन्द्र उत्तरबेहडी नजिकै घाँटी धारिलो हतियारले रेटिएको अवस्थामा उनको शव फेला पर्यो।

शव फेला परेको नजिक फलामको धारिलो डण्डा फेला परेको बुवा पन्त बताउछन्। ‘त्यहि डण्डाले घाँटी छेडेर छोराको हत्या गरिएको हो’ उनी भन्छन्, ‘त्यो डण्डा कस्को घरवाट ल्याइयो, फिंगर प्रिन्ट लिएर जाँच्ने कुनै काम भएन’, उनले भने, ‘प्रहरीले लापरवाही गरेर कुनै प्रमाण संकलन गरेन।’ त्यही वेला शंकास्पद व्यक्तीको नामको सूचि प्रहरीलाई आफुले बुझाएपनि प्रहरीले गंभिर रुपमा अनुसन्धान नगरिदिएको उनको गुनासो छ।

प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि छोराको हत्यालाई आफै मृत्यु भएको बताएको उनको भनाई छ। ‘घटनास्थलको अवस्था हेर्दा, रगत लागेको फलामको रड फेला पर्नु, घाँटी रेटिएको अवस्थामा छोरोको शव भेट्टिनुले हत्या भएको प्रष्ट छ’, उनी भन्छन, ‘छोराको आफै मृत्यु भएको भनेर म कसरी पत्याउ?’

टाउको भन्दा माथी रहेको जस्ताको पातामा रगत लागेकाले तलबाट उफे्रर पनि त्याहाँ घाँटी काटिने अवस्था नरहेको बताउँदै उनी भन्छन, ‘प्रहरीले अध्यारोमा जस्ता पातामा घाँटी रेटिएर मृत्यु भएको भन्ने गरेको छ।’ घटना स्थलमा भेटिएको रड, मृतकको घाँटीमा देखिएको प्वाल, घटना स्थल वरिपरि देखिएको सबै चिज हत्या भएका प्रमाण हुदाँ पनि प्रहरीले लापरवाही गर्नु नै शंकास्पद रहेको उनी बताउँछन्।

सिमानाका बारेमा पटक–पटक छिमेकीसँग पनि विवाद भएकाले छोराको मृत्यु नभई षडयन्त्रपूर्वक हत्या नै भएको पन्तको भनाई छ। छोराको हत्या भएपछि उनी बस्दै आएको घर बेचेर बसाई सारेका छन्।

प्रकाशित: २१ भाद्र २०७५ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App