समाज

महानगरमा विस्फोट गराउने तीन पक्राउ

बम विष्फाेट पछिकाे तस्विर ।

विराटनगर - विराटनगर महानगरपालिकामा बम विस्फोट गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका  २ का मनोजकुमार सिंह, सिरहा लक्ष्मीपुरपतार ३ नया“ टोलका अभिमनु गिरी र सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो। घटनामा प्रत्यक्ष संलग्न ५ जना मध्ये अझै २ जना फरार रहेको मोरङ प्रहरी प्रमुख मनोज केसीले बताए। केसीका अनुसार फरार रहेकाहरूमा घटनाको मुख्य योजनाकार वीरेन्द्र यादव र घटनामा प्रत्यक्ष संलग्न रहेका राहुल यादव छन्।

बम विस्फोटमा जनतान्त्रीक तराई मुक्ती मोर्चाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।संगठनको प्रचार गर्ने र आतंकित पार्ने उद्देश्यले बम विस्फोट गराएको प्रहरी  प्रमुख केसीले बताए। नेपालका नगरपालिकाहरूमा बम विस्फोट गराउने योजना जेठमै भारतको दरभंगमा बनाएको अनुसन्धानमा देखिएको छ। विराटनगर महानगरपालिका बाहिर राखिएको सीसी क्यामराको फुटेजको मद्दतले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख केसीले जानकारी दिए।

विराटनगर महानगरपालिकाको माथिल्लो तलामा गत साउन २७ गते दिउँसो बम विस्फोट भएको थियो। विस्फोटबाट कार्यालयका फर्निचरहरूमा क्षति पुगेको थियो। 

प्रकाशित: १७ भाद्र २०७५ ११:३० आइतबार

विराटनगर_महानगरपालिका बम_विष्फाेट पक्राउ