समाज

भारतीय सुरक्षाकर्मीद्वारा सीमावासी नेपाली त्रसित

बर्दिया - सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्द भारतीय सुरक्षाकर्मीकोे गोली प्रहारबाट आइतबार घाइते भए। नेपालगन्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ। सीमानजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्न सक्ने पीडित परिवारको आशंका छ।

भदौ ५ गते सीमावर्ती जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारूको खोजतलास गरिदिन परिवारले प्रहरीसमक्ष निवेदन दिएको छ। परिवारका सदस्यले बेपत्ता थारूको खोजतलास गरिदिन भन्दै प्रहरी, प्रशासन र संघसंस्थामा पनि धाए। बेपत्ता भएको नौ दिनपछि बिहीबार थारूको शव भारतीय जंगलमा फेला परेको भारतीय पक्षले खबर ग-र्यो। क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले भारतीय बजार बहराइच पु-याएको प्रहरीले जनाएको छ । बहराइच पुगेका मृतकका भाइ गणेश थारूलाई भारतीय पक्षले शव दिएको छैन। शव लिनका लागि गणेश दुई दिनदेखि बहराइचमा छन् । मृतक थारूको काजक्रिया हुन बाँकी छ।

नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको चहलपहल हुन्छ । उनीहरूले नेपालीलाई प्रताडित गर्ने सानातिना घटना गोप्य नै राखिन्छन्। ती घटना सार्वजनिक गरे सीमावासी नेपालीको जीउज्यान नै खतरामा पर्छ।

यस्तै राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन्। शाह र थारूलाई भारतीय पक्षले बेपत्ता पारेको आंशका छ । आफन्तले खोजतलास गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन । शाह र थारूले प्रयोग गर्दै आएका मोबाइल फोन अफ छन् । भारतीय जंगलमा मृत अवस्थामा थारू भेटिएको एसपी सुरेन्द्र मैनाली बताए । ‘मृतक थारूको परिवारले उनी माछा मार्न गएको भन्छ,’ मृतक परिवारलाई उद्धृत गर्दे मैनालीले भने, ‘के कति कारणले थारू भारतीय जंगलमा पुगे भन्ने अनुसन्धान भइरहेको छ।’

घाइते चन्दले गोली लागेको खबर पनि प्रहरीलाई नगरेको एसपी मैनालीले बताए। चन्दलाई गोली लागेको सम्बन्धमा बर्दिया प्रहरीलाई पीडित परिवारले खबर गरेको थिएन,’ उनले भने, ‘उपचारक्रममा शिक्षण अस्पताल पुगेका चन्दका बारेमा बाँके प्रहरीले खबर गरेपछि मैले थाहा पाएँ ।’ उनका अनुसार बेपत्ता भनिएका थारूको खोजतलास गर्दा उनको शव भारतीय जंगलमा भेटिएको हो । राजापुर नगरपालिका–६ का वडाध्यक्ष महेश थारूले सीमावर्ती गाउँका सर्वसाधारण भारतीय सुरक्षाकर्मीबाट त्रसित भएको बताए । ‘शृखलाबद्ध तरिकाले गोली प्रहार, बेपत्ता र भारतीय जंगलमा मृत फेला पर्नु लगायतका घटनाका कारण सीमावासी असुरक्षित महसुस गरिरहका छन्,’ उनले भने।

यसअघि आशापुरका ४६ वर्षीय राममिलन लोध र बढैयाताल गाउँपालिका जमुनी ९ बस्ने हर्कबहादुर शाहीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनको अवस्था अज्ञात छ । अघिल्लो वर्ष लोध जंगलमा दाउरा बटुल्न जाँदा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेर नियन्त्रणमा लिएका थिए । जंगलमा दाउरा बटुल्न गएका ६ जनामाथि भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका लोधलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । छर्रा लागेर घाइते भएका राधेश्याम घर फर्कन सफल भएका थिए । अन्य चारजना पनि भागेर घर आएका थिए । भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका राममिलनको अवस्था अझै अज्ञात छ।

०६७ सालमा घरनजिकमा रहेको शाहीलाई दिउँसो ११ बजे अडहर बारीबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सीमाक्षेत्रमा आवतजावत गर्दा समान्य गल्ती हुँदैमा भारतीय सुरक्षाकर्मीले कुटपिट गर्ने र बेपत्ता पार्ने गरेको पीडित परिवारको आरोप छ । भारतीय पक्षले कथित दोषी पक्राउ गर्न नेपाली भूमिमा आएर छापा मार्ने र गस्ती गर्ने गरेकाले सीमावासीमा त्रास बढेको हो । भारतीय प्रहरीले ०७० असोज २ मा गुलरिया–८ स्थित मन्जुरकुमार श्रेष्ठको घरमा अपराधी पक्राउ गर्ने बहानामा छापा मा-यो।

जिल्लाको सदरमुकाम गुलरिया बजारमा भारतीय प्रहरीले घरभित्र पसेर खोजतलास गरेको थियो । भारतीय डिएसपीको नेतृत्वमा तीनवटा गाडीमा आएको टोलीले नेपाली सुरक्षाकर्मीसँग समन्वय नगरी श्रेष्ठको घरमा छापा मार्दा गुलरियावासी नै त्रसित भए । भारतीय प्रहरीले बेलाबेलामा गर्ने बलजफ्तीका कारण सर्वसाधारण आक्रोशित छन्।

यस्तै गत वर्ष दसगजाको बाटो भएर घर फर्किने बेलामा गुलरिया–७ का मनोज यादवमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका यादव जिल्ला प्रशासन कार्यालयमा दोषीलाई कारबाहीको माग गरेका थिए । सीमा क्षेत्रमा भारतीय पक्षले नेपालीलाई प्रताडित गर्ने यस्ता अनेकन् घटना छन् । कतिपय घटना सार्वजनिक नहुने गरेको सीमावासीको भनाइ छ । ‘नेपाली भूमिमा नेपालीभन्दा भारतीय सुरक्षाकर्मीको चहलपहल हुन्छ,’ एक जनप्रतिनिधिले भने, ‘सानातिना कुरा गोप्य नै राख्छन् सीमावासी, सार्वजनिक गरे सुरक्षाको ग्यारेन्टी हुँदैन ।’ भारतीय प्रहरीले नेपाली भूमिमा पसेर आफूहरूलाई आंतकित पार्ने गरेको सीमावासी गुनासो छ।

नेपाल प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी खटाउने गरेको छ । तर, नेपाली प्रताडित हुने सीमाक्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन भएको पाइँदैन । जिल्लामा नयाँ प्रहरी प्रमुख आउनासाथ सीमावर्ती बजारका प्रहरी एकाइमा कार्यरत इन्चार्जको फेरिने चलन छ । सीमावर्ती क्षेत्रका करिब आधा दर्जन प्रहरी चौकीका इन्चार्ज फेरिएसँगै सीमावासीमा त्रास बढ्ने गर्छ । नयाँ आउने इन्चार्जलाई वातावरण थाहा पाउन नै समय लाग्दा यस बेलामा भारतीय सुरक्षाकर्मीको प्रताडना अझ बढ्ने गर्छ । सीमावर्ती क्षेत्रमा भएका कारण जमुनी, कालिका, गणेशपुर, कोठियाघाट, भिम्मापुर र खाता प्रहरी चौकी जिल्लाका आर्कषक प्रहरी एकाइ मानिन्छन् । तर, यी प्रहरी चौकी अत्यन्त संवेदनशील क्षेत्रमा रहेका छन् । नयाँ प्रहरी प्रमुखसँगै सीमा प्रहरी चौकीका इन्चार्ज फेरिने गरिएकाले सीमाक्षेत्रमा सुरक्षा कायम हुन नसकेको स्थानीयको भनाइ छ । ‘सीमाक्षेत्रका प्रहरी चौकीमा नयाँ प्रहरी इन्चार्ज आएका बेला भारतीय सुरक्षाकर्मीसँग समन्वय कमजोर हुन्छ । त्यस कारण नेपाली प्रताडित हुनुपरेको घटना दोहोरिने गर्छन्,’ ती जनप्रतिनिधिले भने । अहिले सीमाक्षेत्रका प्रहरी चौकीहरूमा नयाँ इन्चार्ज आएका छन्।

बर्दियामा नेपाल भारतको खुला सीमा क्षेत्र ७८ किलोमिटर छ । सीमामा दर्जनभन्दा बढी नेपाली गाउँ छन् । देशपार विवाहको परम्परा भएकाले भारतमा आवतजावत गर्नैपर्ने नेपालीको बाध्यता छ । सीमाक्षेत्रका नेपाली भारतीय जंगलमा घाँसदाउरा गर्न समेत जाने गर्छन्।

प्रकाशित: १६ भाद्र २०७५ ०१:५० शनिबार

भारतीय_सुरक्षाकर्मी सीमावासी_नेपाली त्रास