समाज

कलेज भवन निर्माणमा चरम लापरबाही

जीर्ण अवस्थामा बिपी प्रतिष्ठानको कलेज भवन र कोठा। तस्बिरः रोहित/नागरिक

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कलेज भवन (एकेडेमिक ब्लक) निर्माणमा भएको चरम लापरबाहीलाई ढाकछोप गरिएको खुलासा भएको छ । निर्माणमा गम्भीर लापरबाही र त्रुटि भएको जान्दाजान्दै पनि प्रतिष्ठानको तत्कालीन व्यवस्थापन पक्षले सो भवन जिम्मा लिएको प्रमाण फेला परेको छ। भारतीय दूतावासको करिब १६ करोड रुपैयाँ लगानीमा बनेको सो भवन चार वर्ष नबित्दै जीर्ण बनेको छ।

दूतावासले दुईवटा कलेज भवन (ब्लक ए र बी) निर्माण गरिदिएको थियो । तीमध्ये ब्लक ‘ए’ प्रयोगमा आउन सकेको छैन। त्यसमा एनाटोमीलगायत विभाग सार्ने भनिए पनि भवनको दुरवस्थाले सार्न नसकिएको प्रतिष्ठानले जनाएको छ। चारवटा कोठा भएको ब्लक ‘बी’ मा एमबिबिएसको कक्षा सञ्चालन हुन्छ । तर, त्यो भवन पनि सिलिङ भत्किएर र पानी चुहिएर जीर्ण बनिसकेको छ । वर्षामा पानी चुहिएर कोठाहरुमा बस्नै नसक्ने अवस्था आएको छ। भवनमा जडान गरिएका एसी, फल्स सिलिङ झर्ने अवस्थामा पुगेकाले त्रसित वातावरणमा पढ्नुपरेको विद्यार्थी बताउँछन् । ‘ब्लक बी मा त्रसित वातावरणमा पढ्नुपरिरहेको छ । वर्षा हुँदा पानी चुहिएर कक्षा सञ्चालनमा नै डिस्टर्ब हुन्छ । फल्स सिलिङ कतिबेला झरेर लाग्छ भन्ने डर हुन्छ,’ एक विद्यार्थीले भने।

दूतावासले एकेडेमिक भवन बनाएर करिब चार वर्षअघि प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो। प्रतिष्ठानलाई हस्तान्तरण गर्नुअघि नै भवन निर्माणमा धेरै कमजोरी भएको पत्ता लागे पनि गुपचुप राखियो। भवन हस्तान्तरणअघि २६ डिसेम्बेर २०१३ मा ठेकेदार कम्पनी, परामर्शदाता र प्रतिष्ठान व्यवस्थापनसहितको संयुक्त बैठक बसेको थियो । तीनै पक्षको संयुक्त निरीक्षणका क्रममा भवन बनाउँदा २८ वटा कमजोरी फेला परेका थिए । संयुक्त बैठकले ती कमजोरी ठेकेदार पक्षले २७ फेब्रुअरी २०१४ भित्र सुधार्ने सर्तमा भवन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेको पाइएको छ । करिब ४ वर्षअघि भएको सो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन। ठेकेदारले मर्मत गर्नुपर्ने भए पनि अहिलेसम्म अटेर गरेरै बसिरहेको छ । भवन निर्माण ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो भने परामर्शदाता (कन्सल्टेन्ट) बिल्डिङ डिजाइन अथोरोटी (बिडिए) काठमाडौं थियो।

हस्तान्तरण अघि निरीक्षण गर्दा नै निर्माणमा गम्भीर लापरबाही भएको फेला परे पनि ठेकेदारलाई जोगाउन प्रतिष्ठान व्यवस्थापन, कन्सल्टेन्ट र दूतावासको मिलेमतोमा भवन हस्तान्तरण गरिएको स्रोतको दाबी छ । भवन जिम्मा लिँदा प्रतिष्ठानका उपकुलपति डा. बिपी दास थिए । त्यतिबेलै ब्लक ए र बी को फल्स सिलिङ बिग्रिएको, भवन चर्किएको, छत पनि खराब भएको, वालमा सिमेन्ट प्लास्टरमा लापरबाही भएको, ब्लक बीको सिलिङ राम्ररी नमिलेको लगायत २८ वटा त्रुटि औंल्याइएको थियो। भवन जिम्मा लिनुअघि नै ठेकेदारलाई निर्माणमा भएका कमजोरी सच्याउन लगाउनुपर्नेमा त्यसो नगरी हस्तान्तरण गरिनुले आर्थिक चलखेल भएको आशंका स्रोतको छ । ‘एक–दुईवटा पक्षामात्र बिग्रेको भए विस्तारै पछि मर्मत गरौंला भन्न हुन्थ्यो, त्यहाँ त २८ वटा गम्भीर खालका त्रुटि देखिएका थिए । पहिला ती त्रुटि र कमजोरी हटाएर भवन हस्तान्तरण र जिम्मा लिने काम हुनुपथ्र्यो,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘न पहिला मर्मत गर्न लगाइयो न हस्तान्तरण भइसकेपछि नै मर्मत गर्न लगाइयो, अहिलेसम्म उस्तै छ।’

हस्तान्तरण भएको दुई वर्षपछि ८ मार्च २०१५ मा प्रतिष्ठानले पूर्वसर्तबमोजिम ठेकेदारले भवन मर्मत नगरेको भन्दै कन्सल्टेन्ट बिडिएलाई पत्राचार गरेको थियो । प्रतिष्ठानले बिडिएलाई लेखेको पत्रमा इपिडिएम लेयर लिकेज भएको, एसि कनेक्सन पूरा नभएको, छतको सतह नमिलेको र लिकेज भएको, अल्मुनियम र ग्यास्केटले ठाउँ छोडेको, मुख्य भवनमा चिरा देखिएको र विद्युत्को काम पूर्णरुपमा नभएको उल्लेख छ । बिडिएले १२ मार्च २०१५ मा ठेकेदार लामा कन्स्ट्रक्सनका निर्देशक पिताम्बर बडुलाई पत्र लेखी २७ फेब्रुअरी २०१४ भित्रै भवन मर्मत गर्न्पर्नेमा किन नगरेको भन्दै ध्यानाकर्षण गराएको पत्र भेटिएको छ । सो पत्रमा भवनमा थुप्रै खराबी देखिए पनि प्रतिष्ठानले ६ वटा विषयलाई गम्भीर ढंगले उठाएकाले चाँडो मर्मत गर्न ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराइएको छ । कन्सल्टेन्ट बिडिएले मर्मतका लागि पत्र पठाएपछि पनि ठेकेदारले काम गरेको छैन।

प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले भवनमा पानी चुहिएकाले समस्या भएको प्रतिक्रिया दिए । ठेकेदारले नै मर्मत गर्नुुपर्ने भएकाले पत्राचार गरिएको तर उसले बनाउन नसक्ने जवाफ दिएको उनले बताए । ‘भवनको छत चुहिएर समस्या भएको हो, खासै धेरै ठुलो समस्या होइन । ठेकेदारले सुधार गर्नुपर्ने हो, गरेन । हामीले पेमेन्ट रोकिदियौं,’ श्रेष्ठले भने । प्रतिष्ठानका कुलपति डा. राजकुमार रौनियार पूर्वउपकुलपतिको पालामा भवन बनेको र हस्तान्तरण भएकाले यसबारे केही बोल्न नसक्ने बताए । ‘म भिसि (उपकुलपति) भएर आउँदा भवनको हालत यस्तै थियो । जीर्ण अवस्था छ । ठेकेदारलाई सम्पर्क गरेर मर्मत गराउने प्रयास गरें, काम भएन । अब ठेकेदारकै धरौटीबाट कट्टा हुने गरी भवन मर्मत गराउने प्रक्रियामा छौं,’ उपकुलपति डा. रौनियारले भने।

प्रकाशित: ११ भाद्र २०७५ ०१:०२ सोमबार

कलेज भवन_निर्माण लापरबाही बीपी_कोइराला_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान