समाज

हिमाली जिल्लामा औलो फैलियो

काठमाडौं – तराइको रोग भनेर चिनिने औलो केही वर्षदेखि यता हिमाली जिल्लाहरु मुगु र बाजुरामा फैलिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । असारदेखि फैलिएको औलो साउनको अन्तिम सातासम्म पनि नियन्त्रण आउन नसकेको महाशाखाले जनाएको छ।

एनोफिलिस’नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा औलो संक्रमण हुन्छ । संक्रमित लामखुट्टेले टोकेको ७ देखि १० दिनभित्र लक्षण देखाउन थाल्छ । औलो लागेर समयमै उपचार नभएमा कलेजो तथा फियो सुन्निने जस्ता जटिलता आई मानिसको मृत्यु समेत हुन सक्छ।

औलो संक्रमितको संख्या मंगलवारसम्ममा मुगुमा १ सय ११ जना र बाजुरमा ४० जना पुगिसकेको महाशाखाको तथ्याकं छ । औलो फैलिन सुरु भए लगत्तै २१ जनाको उपचार तथा किट पहिचान टोली सम्वन्धित जिल्लाहरुमा पठाए पनि अहिलेसम्म पुरै नियन्त्रण नभएको महाशाखाका प्रमुख विवेक कुमार लालले बताए । ‘पहिलो टोलीले औषधी पु¥याउने र किट पहिचान गर्ने काम गरेको थियो,फेरी अर्को टोली पठाएका छौं’ उनले मंगलवार नागरिकसित भने । केही दिन अघि नै पठाएको १२ जनाको टोली हवाइ टिकट अभावको कारण सवै जना पुगिनसकेको उनले बताए।

पछिल्लो टोलीले किटनाशक औषधी छर्किने र थप औषधी समेत लिएर गएको डा.लालले बताए । सरकारले औलो प्रभावित जिल्लामा विषादी सहितको झुल वितरण गरिरहेकोमा यी जिल्लाहरुमा पनि बितरण भइसकेको छ । लामखु्ट्टको औलो सार्ने प्रक्रिया अनुसार थप ४ देखि ६ हप्तासम्ममा औलो नियन्त्रण गर्न समय लाग्ने महाशाखाले जनाएको छ।

यी जिल्लामा देखिएका औलोमा सामान्य असर गर्ने खालका जीवाणु‘प्लाजोमोडियम ’पाइएकोले औलोको कारण विरामीको मृत्यु नभएको महाशाखाले जनाएको छ । ‘प्लाज्मोरियम फालिसमोरिस’जीवाणुको संक्रमण भएमा भने औलो कडा खालको हुन्छ । यसको तुलनामा जिल्लामा पहिलो खालका जीवाणु बढी मात्रामा पाइएका छन्।

गत वर्षहरुमा औलो फैलिए पनि निजी स्तरवाटै उपचार हुने गरेको र उपचार पुर्ण हुन नसकेकोले महाशाखाले ती क्षेत्रमा ध्यान केन्द्रित गरेको डा.लालले बताए । उनको अनुसार विगतका वर्षहरुमा आयतित तथा स्थानीय औलो देखा परे पनि कतिपयले जडीबुटी खाएर निर्वाह चलाएका थिए भने निजी स्वास्थ्य संस्थाहरुले औलोको अपुरो औषधी चलाएको देखिन्छ । ‘क्लरोकिन मात्र दिने गरिएको पाइयो,त्यतिले पुर्ण निको हुँदैन’उनले भने।

जिल्लामा गत वर्षदेखि मात्र औलो पहिचान भएको महाशाखाले जनाएको छ । महाशाखाले स्थानीय स्वास्थ्यकर्मीलाई औलो उपचार तालिम दिएपछि जिल्लामा रोगीको पहिचान भएको थियो । आर्थिक वर्ष २०७४–०७५ मा मुगुमा १ सय १० जना र बाजुरामा ८६ जनामा संक्रमण भएको थियो । गत वर्ष देशभरमा १ हजार ५५ जनामा औलो संक्रमण भएको थियो।

तराईको बिभिन्न जिल्लामा प्रकोपको रुप लिइरहेको औलो केही वर्षदेखि यता हिमाली जिल्लामा समेत फैलिसकेको महाशाखा प्रमुख कर्णले बताए । विश्व तापमानमा आएको परिवर्तन,भारतमा रोजगारीमा जानेहरुवाट औलो संक्रमण फैलिने गरेको डा.लालको तर्क छ । वातवरणकै कारण औलो जस्तै कालाजार,डेंगु र हात्तीपाइले पनि हिमाली जिल्लामा फैलिएका छन्।

संक्रमित लामखुट्टेले टोकेको ७ देखि १० दिनभित्र मानिसमा औलोको लक्षण देखिन सुरु हुन्छ । यसको संक्रमण सुरु भएपछि सुरुमा काम ज्वरो आउने,पसिना आउने,कमजोरी अनुभव हुने,शरिर दुख्ने जस्ता लक्षण देखिन्छन् । पछि गएर रक्तकोषिका नष्ट हुने,कलेजो तथा फियो सुन्निने र कुपोषण हुने गर्छ । दीर्घरोगी तथा प्रतिरक्षा कमजोर भएका व्यक्तिहरुलाई बढी जटिलता हुन्छ । यो रोगको संक्रमण भएपछि स्वास्थ्यकर्मीको निर्देशन अनुसार औषधीको प्रयोग गरेमा निको हुन्छ । स्थानीय स्वास्थ्य चौकीमा सरकारले यसको औषधी उपलब्ध गराएको र थप औषधी पठाएको महाशाखाले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App