समाज

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि साढे ३ हजार राहत

दार्चुला– महाकाली बाढी पीडितलाई पाँच बर्षपछि राहत रकम वितरण हुने भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले महाकाली बाढीबाट पूर्ण क्षती भएका १ सय १३ परिवारलाई कोषमा बचेको चार लाख रुपैँया वितरण गरिने  भएको छ। 

२०७० सालमा महाकाली नदिमा आएको बाढीबाट पीडित परिवारका लागि कोरियामा रहेका नेपालीहरुबाट  सहयोगका लागि आएको चारलाख रुपैँया लामो समय जिल्ला  समय  जिल्ला दैवि प्रकोप उद्धार समितिको खातामा रहेको थियो।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यसअघि उक्त रकम जिल्ला अस्पताल दार्चुलाको नाममा खर्च गर्ने निर्णय गरेपछि दार्चुलाका बाढी पीडितहरुले विरोध र अख्तियारमा समेत रिट दायर भएको थियो। पछि बाढी पीडितलाइ नै वितरण गर्ने समितिले निर्णय गरेको थियो। फेरि बुधबार बसेको बैठकले बाढीबाट पूर्ण क्षति भएका १ सय १० परिवार र एक जना मृतक तथा दुई जना पछि थप गरिएका पीडितहरुलाई दामासाइ हिसाबले रकम वितरण गर्ने निर्णय गरेको हो। 

यसका आधारमा १ सय १३ परिवारले प्रति परिवार ३ हजार ५ सय ३९ रुपैँया राहत स्वरुप पाउने छन्। यसका अतिरिक्त जिल्ला विपद व्यवस्थापन समितिले  हालसम्म विभिन्न विपदका कारण पीडित भएका ११ परिवार लाई वितरण गरिएको ७२ हजार ६ सय ९० रुपैँया अनुमोदन गर्ने, यसबर्ष विभिन्न विपदमा परेका २५ परिवारलाई १ सय २३ थान ग्याविन जाली र १७ थान त्रिपाल वितरण गरिएकोलाई पनि अनुमोदन गरिएको छ। 

साथै २०७० सालको बाढीका कारण भएको क्षतिका बेला तत्कालिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले घोषणा गरेको ५० करोडमध्ये दार्चुला आउन बाँकी रकमलाई माग गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ।

प्रकाशित: २३ श्रावण २०७५ १५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App