समाज

चपथली जंगलमा चुँडिएको फूल

धनगढी – कैलाली गौरीगंगा नगरपालिका–११ कि माया विक सानैदेखि पढाइमा अब्बल थिइन् । परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले छोरी पढाउने र घर खर्च जुटाउन आमा देउसरा विक कुवेत गइन् घरेलु कामदार बनेर।

तिक्ष्ण दिमाग भएकाले छोरीले केही गर्छे भन्ने उनले ठूलो सपना देखेकी थिइन् । नभन्दै छोरी मायाले एसएलसी उत्तीर्ण गरिन् । गाउँमा दलित समुदायबाट एसएलसी पास गर्ने पहिलो किशोरी बनिन् । मिठाइ खाएर गाउँमा सबैले खुसी मनाए।

एसएलसी पास गरेपछि मायाले विदेशमा मजदुरी गरिरहेकी आमालाइ सुख दिने सोच बनाइन् । र, गौरीगंगा नगरपालिकामा समाजिक परिचालिका पदका लाििग आवेदन दिइन् । नभन्दै सामाजिक परिचालिकामा नाम निकाल्न उनी सफल भइन् । असार ३ गते समाजिक परिचालिकामा छनोट भएकी उनले असार ५ गतेदेखि काम थालिन्।

अनि खुसी हुँदै मायाले कुवेतमा रहेकी आमालाई फोन गरिन्, ‘आमा अब तपार्इंले दुःख गर्नु पर्दैन, म कमाउने भइसकें, घर फर्किनुहोस् ।’ छोरीको प्रगतिले आमा देउसरा खुसीले गद्गद् भइन् । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । सपनामा पनि नसोचेको बज्रपात भयो । अर्थात् नगरपालिकामा काम थालेको पाँच दिनमै सामूहिक बलात्कारपछि छोरीको हत्या भयो । उनलाई गाउँकै पाँच युवाले जंगलमा लगेर बलात्कार गरी हत्या गरे।

फूलजस्ती छोरीको हत्या गर्नेलाई फाँसी दिए मात्र मेरो मन शान्त हुन्थ्यो तर, त्यस्तो कानुन छैन भन्छन् । कम्तीमा जीवनभर जेलभित्रै सड्ने गरी कारबाही होस्, दोषीलाई छुटाउने कुरा नहोस्।

‘आमा, हजुरले सधैं दुःख गर्नुभयो, म अब जागिर खाने भइसकें । तपाई घर फर्किनुहोस् भनेर फोन गरेकी थिई,’ आमा देउसराले भनिन्, ‘अब मेरा सुखका दिन आए भन्ने सोचेकी थिएँ । पापी दानवहरूले सबै सपना चकनाचूर पारिदिए।’

दुई वर्षअघि कुवेत गएदेखि छोरीलाई देख्न नपाएकी उनी छोरीको दाहसंस्कार भइसकेपछि मात्र घर आइपुगिन् । भक्कानिँदै उनले भनिन्, ‘छोरीमाथि मेरा कति धेरै आशा र भरोसा थिए, अब के गरेर म मन बुझाऊँ?’

बलात्कार र हत्या गर्ने अपराधीलाई कडा कारबाही नभएसम्म छोरीको आत्माले शान्ति नपाउने देउसरा बताउँछिन् । ‘फूलजस्ती छोरीको हत्या गर्नेलाई फाँसी दिए मात्र मेरो मन शान्त हुन्थ्यो तर त्यस्तो कानुन छैन भन्छन,’ उनले भनिन्, ‘कम्तीमा जीवनभर जेलभित्रै सड्ने गरी कारबाही होस्, दोषीलाई छुटाउने कुरा नहोस्।’

यसरी भयो बलात्कार र हत्या

सामाजिक परिचालिकाको काम गर्न थालेको तेस्रो दिन गत असार ८ गते नगरपालिका कार्यालयमा सँगै काम गर्ने ३० वर्षीय गणेश बडुवालले माया विकलाई यौन प्रस्ताव राखे । उनले अस्वीकार मात्र गरिनन्, गाली पनि गरिन् । तर बडुवालले दलित युवती भएकाले हेपेर पुनः असार ११ गते सोही प्रस्ताव राखे । मायाले अस्वीकार गरेपछि यसपटक बडुवालले हातपातसमेत गरे र प्रतिशोधमा सामूहिक बलात्कार गर्ने सोच बनाए।

असार १२ गते बिहान साढे ९ बजे स्थानीय २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई बोलाएर मायाको बाटो ढुके । सोही बाटो आउँदै गरेकी मायालाई उनीहरूले समाते र मुख थुन्दै स्थानीय चपथली सामुदायिक वनभित्र लगे । उनको हात पछाडि फर्काएर बाँधे । मुखमा उनकै सल कोचिदिए । र, निर्वस्त्र बनाएर पाँच जनाले पालैपालो बलात्कार गरे । बलात्कारकै क्रममा मायाको मृत्यु भयो । असार १५ गते विभत्स अवस्थामा उनको शव भेटिएको थियो।

प्रहरीसँग बयानमा पाँचै जनाले बलात्कार गरेर मायाको हत्या गरेको स्वीकार गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

पूर्पक्षका लागि पाँचै अभियुक्त थुनामा

बलात्कार तथा हत्यामा संलग्न गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी अहिले थुनामा छन् । साउन १५ गते कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले अभियुक्त पाँचै जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकराी दिए।

प्रकाशित: २३ श्रावण २०७५ ०२:०० बुधबार

#चपथली जंगल #चुँडिएको फूल #दलित समुदाय