इलाम – इलाम नगरपालिकाले स्थानीयलाई सेवा दिन नगरलाई २ सय ३० कर्मचारी दरबन्दी आवश्यक रहेको जनाएको छ। नगरपालिकाले प्रत्येक वडामा कम्तीमा ३ कर्मचारी आवश्यक रहेको भन्दै संघीय सरकारलाई सुझाव पठाउँदैछ।
साउन २० गतेको नगर कार्यपालिका बैठकले वडामा सचिव, सहायक कर्मचारी र कार्यालय सहायक गरी ३ दरबन्दी आवश्यक पर्नेगरी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो। नगरपालिकाको सरसफाइमा २५, खानेपानीमा २५ कर्मचारी दरबन्दी सिर्जना गरेको जनाएको छ।
‘अहिलके नगरमा १ सय ७० कर्मचारीले काम गरिरहेका छन्,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख महेश बस्नेतले भने, ‘अहिले पनि विभिन्न क्षेत्रका कर्मचारी नहुँदा सेवा दिन कठिनाई भइरहेको छ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो स्थानीय तहलाई आवश्यक पर्ने दरबन्दीको संख्या पठाउन पत्राचार गरेको थियो।
संघीय सरकारले माग गरेअनुसार कार्यपालिका बैठकले इन्जिनियर, प्राविधिक, न्याय, शिक्षा, स्वास्थ्य, लेखा, प्रशासन, कृषि, पशुसेवालगायत क्षेत्रका कर्मचारीको दरबन्दी सिर्जना गरी मन्त्रालयमा पठाएको प्रमुख बस्नेतले बताए। नगरमा अहिले १६ सामाजिक परिचालक रहेको र उनीहरूको कार्यकाल आउँदो पुससम्म मात्र रहेको उनले बताए।
‘नागरिकलाई सेवा दिन भौतिक स्रोत–साधन र मानवीय स्रोत पनि त्यत्तिकै चाहिन्छ,’ उनले भने, ‘मन्त्रालयले मागेअनुसार दरबन्दी त पठाउँदै छौं, अब मन्त्रालयले पदपूर्तिका लागि के–कसो गर्छ भन्ने थाहा छैन।’ कार्यपालिका बैठकले शिक्षा नियमावली संशोधन गर्न कार्यदल गठन गरेको छ। नगरले यसअघिनै लागू गरेको शिक्षा नियमावलीअनुसार नगरका १० विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि बैठकले छानेको छ।
नगरपालिकाको अमर माविमा गोविन्द पौडेल, आदर्श माविमा कोमल निरौला, नन्द माविमा चन्द्रमणि गौतम, सुम्बेक माविमा उमाकान्त पोख्रेल, बालमण्डल माविमा तेजप्रसाद दुलाल अध्यक्ष मनोनित भएका छन्। सिद्धदेवी आधारभूत विद्यालयमा यज्ञ दुलाल, सिंहदेवी आविमा योगेन्द्र आचार्य, सूर्याेदय आविमा खेम आचार्य, देवकोटा आविमा हेमबहादुर राई र रुक्मिणी आविमा पनि अध्यक्ष मनोनित गरिएको प्रमुख बस्नेतले बताए।
नगरपालिकाको शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सम्बन्धित वडाध्यक्षको सिफारिसमा परेका ३ जनामध्येबाट चुनिन्छन्। वडाध्यक्षले सिफारिस गरेकामध्ये नगर कार्यपालिकाको बैठकले १ जनालाई अध्यक्ष चुन्ने व्यवस्था नियमावलीमा छ। नगरका जनप्रतिनिधिका लागि ३३ बुँदे आचारसंहिता लागू गर्ने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको छ।
बैठकले लोगो र मर्यादित पोसाकमा मात्र नगरसभालगायत औपचारिक कार्यक्रममा जानेसहित सार्वजनिक सम्पत्ति संरक्षणसम्मलाई आचारसंहिताका बुँदामा अटाएको कार्यपालिकाका प्रवक्ता तथा वडा ५ का अध्यक्ष ठाकुर श्रेष्ठले जानकारी दिए। बैठकले इलाम नगरपालिकामा लगानी गर्न चाहने दाताहरूका लागि आउँदो भदौमा लगानी सम्मेलन आयोजना गर्ने पनि निर्णय गरेको छ। लगानी सम्मेलन आयोजना गर्न नगर प्रमुखको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति पनि गठन गरिएको छ।
समितिको सहसंयोजकमा उपप्रमुख सुशीला नेम्बाङ र सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, १ नम्बर प्रदेशबाट कृष्ण साह र संघीय राजधानी बस्ने इलामेको तर्फबाट अर्जुन भट्टराई सदस्य चुनिएका छन्। आउँदो भदौ अन्तिम सातासम्ममा काठमाडौं वा इलाममा लगानी सम्मेलन आयोजना गर्ने पनि प्रमुख बस्नेतले बताए।
नेपालमै पहिलो पटक इलाममा चिया खेती सुरु गराउने तत्कालीन वडाहाकिम गजराजसिंह थापाको स्मारक निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ। इलाम सदरमुकाम अहिलेको स्थानमा बसेको २ सय वर्ष पुगेको अवसरमा २०७५ सालभर विभिन्न कार्यक्रम गर्ने, विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्नेक्रममा थापाको स्मारक बनाउने निर्णय भएको नगरपालिकाले जनाएको छ।
प्रकाशित: २२ श्रावण २०७५ ११:२४ मंगलबार