समाज

पूर्वका ९ जिल्लामा आमहड्ताल, बन्दले जनजीवन प्रभावित

आमहड्तालका कारण मंगलबार आंशिक बन्द भएको इलाम बजार। तस्बिर : भीम/नागरिक

इलाम – राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि लामो दूरीमा चल्ने सवारी साधन निकै पातलो गरी मात्रै चलेका छन् भने छोटो दूरीका सवारी पनि थोरै मात्र सञ्चालनमा छन्।

आमहड्तालका कारण इलाम, पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाको जनजीवन प्रभावित बनेको हो। इलाम सदरमुकामस्थित इलाम बजार आंशिक बन्द छ। शिक्षण संस्था बिहानैदेखि नखुलेपछि विद्यालय गएका विद्यार्थी घर फर्किएका छन्। उद्योग, कलकारखाना, बजार, पसल, शिक्षण संस्थालगायत सबैमा आमहड्ताल गरिएको पार्टीले जनाएको छ।

१८३१ साल साउन २२ गते नेपाल एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्दा लिम्बुवान भूमि गुमेको दिनलाई स्मरण गर्दै पार्टीले प्रस्तावित लिम्बुवान क्षेत्र बन्द गराएको पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नागरिकलाई बताए। ‘नेपाल एकीकरण गर्दा हाम्रो पहिचान गुमेको दिन साउन २२ लाई हामी सधैं कालो दिनका रूपमा मनाउँदै आएकाछौं,’ उनले भने, ‘आज पनि त्यही स्मरणमा आमहड्ताल गरेका हौं।’ अध्यक्ष पालुङ्वाले नेपाल एकीकरण गर्दा पाएको स्वायत्त अधिकारसमेत त्यसपछि गुमेको र त्यसैको प्राप्तिका लागि आफूहरू आन्दोलनमै रहेको पनि जनाए।

मंगलबारको आमहड्ताल प्रचार गर्दै हिँडेको पार्टीका ५० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए। ‘धरान र दमकमा आजको बन्द प्रचारक्रममा सुरक्षाकर्मीले हाम्रा ५० जति नेता–कार्यकर्ता नियन्त्रणमा लिएका छन्,’ उनले भने, ‘उनीहरूको निसर्त रिहाई हुनुपर्छ।’ पक्राउ परेकामध्ये केहीलाई छाडेपनि धेरैजना अझै नियन्त्रणमै रहेको पार्टीले जनाएको छ। आमहड्ताल बेलुका ५ बजेपछि खुल्ने उनले बताए।

प्रकाशित: २२ श्रावण २०७५ ०५:३२ मंगलबार

#राष्ट्रिय जनमुक्ति पार्टी #आमहड्ताल