काठमाडौं - अविरल वर्षाले काठमाडौं उपत्यकाका नदीकिनारमा रहेका सुकुमबासी बस्ती डुबानमा परेका छन्। आइतबार रातिदेखिको अविरल वर्षाले बागमती, विष्णुमती, धोवीखोला र हनुमन्ते खोलाको बहाव बढेसँगै तिनको किनारका बस्तीमा त्रास बढेको छ।
थापाथलीस्थित सुकुमबासी बस्तीका रन्जित विकले अविरल वर्षासँगै नदीकिनारका बस्ती जोखिममा परेको गुनासो गरे। ‘पानी दर्किएसँगै रातभर निदाउनै पाएनौं,’ उनले भने, ‘कति बेला बाढी आएर लैजाने हो भन्ने चिन्ताले रातभर आँखा चिम्म पनि भएन।’
अव्यवस्थित सहरीकरणका कारण उपत्यकामा बाढी र डुबानको समस्या बढेको वातावरणविद् बताउँछन्।
शान्तिनगरको बागमती नदीकिनारमा बसोवास गर्दै आएकी सानुमाया परियारले पनि बागमती नदीमा पानी बढेसँगै डरले थर्थर कमाएको बताइन्। ‘पानी दर्केसँगै मन थररर काम्ने गर्छ,’ उनले भनिन्, ‘के गर्नु, रहरले नदीको किनारमा टहरा बनाएर बसेका होइनौं। बाध्यता भएपछि जतिसुकै कष्ट बेहोर्दै बाँच्नुपर्ने रहेछ ।’ उनले नदीकिनारमा बस्दै आएका सुकुमबासीलाई स्थानान्तरण गर्न सरकारसँग माग गरिन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ का धनकुमार मैनालीले डुबानका कारण घर तथा सडक जलमग्न भएको बताए। ‘बाढीले ललितपुर जिल्लाको अधिकांश क्षेत्र डुबानमा परेको छ,’ उनले भने, ‘कुनैकुनै ठाउँमा पानीको सतह १० फिट माथिसम्म आइपुग्यो ।’ बाढी आएपछि ललितपुरमा गोदावरी खोलाले बा१४च ४७४९ नम्बरको निजी कार बगायो। बग्दै केही तल पुगेको कार खोलामा पानीको बहाव घटेपछि क्रेनको सहायताले बेलुकापख निकालिएको छ।
आइतबार बेलुकादेखिको वर्षाका कारण काठमाडौंका शान्तिनगर, बल्खु तरकारी बजार, ललितपुरको लुभु, गोदावरी, सानागाउँ, इमाडोल, राधेराधे, हुनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अविरल वर्षाका कारण शान्तिनगर, थापाथली र बल्खुको नदीकिनारका बासिन्दा प्रभावित भएको बताए। ‘अत्यधिक वर्षाका कारण होचो स्थानमा रहेका बस्तीमा डुबान समस्या देखियो। डुबानले सडक तथा घरघरमा पानी पसे पनि ठूलो मात्रामा क्षति भने हुन पाएन,’ उनले भने, ‘केही स्थानका सडक तथा घर जलमग्न देखिए।’ उनका अनुसार बल्खु तरकारी बजार क्षेत्रका १० घर डुबानमा परेका थिए। यस्तै पहिरोका कारण तारकेश्वर नगरपालिकाको रामकोटमा एक घरमा सामान्य क्षति पुगेको छ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले अविरल वर्षाले जनताको घर–घरमा पानी पसे पनि मानवीय क्षति हुन नपाएको बताए। ‘अविरल वर्षाका कारणले ललितपुरका विभिन्न स्थानमा केही समय जनमग्न भयो,’ उनले भने, ‘होचो स्थानका अधिकांश घरमा पानी पसे पनि मानवीय र भौतिक क्षति हुनबाट जोगियो।’ जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार अरिवल वर्षाका कारण लतिपुरका अधिकांश सडक तथा घर जलमग्न भएका थिए। ललिपुर जिल्लाका लुभु, सानागाउँ, इमाडोल, सैंबु भैंसेपाटी, टीकाथली, चानाथा, साङलाथलीलगायतका क्षेत्रमा बस्ती जलमग्न भएको थियो। प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार नदीछेउछाउका स्थानीयले नदीलाई अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेकाले समस्या आएको हो।
ललितपुरमा बाढीपहिरोको कारण विभिन्न स्थानका ५ घरमा सामान्य क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी जोशीले बाढीपहिरोको जोखिमलाई ध्यान दिई उच्च सतर्कता अपनाएको बताए। ‘जुनसुकै बेला बाढीपहिरो आउने सम्भावना देखिएकाले जिल्लाभर नै उच्च सतर्कता अपनाएका छौं,’ उनले भने, ‘जिल्लामा रहेका सुरक्षाकर्मी तथा उद्धारटोली तयारी अवस्थामा छन्।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यले डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सुरक्षाकर्मी खटाएको बताए।
अझै केही दिन वर्षा
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा भइरहेकाले तटीय क्षेत्रमा सर्वसाधारण सावधान रहनुपर्ने बताए। ‘उपत्यकामा मध्यम खालको वर्षा भइरहेको छ। त्यसैले जुनसुकै बेला खोलानाला बढ्ने उच्च जोखिम भएकाले नदी किनारका सर्वसाधारण सचेत हुनुपर्ने देखिन्छ’, उनले भने। महाशाखाका अनुसार बंगालको खाडी र अरब महासागर क्षेत्रको जलवाष्पका कारण वर्षा भएको हो। ‘अझै केही दिनसम्म मौसम बदली भइरहने देखिन्छ, वर्षा पनि भइरहन्छ,’ रिमालले भने। महाशाखाका अनुसार ओखलढुंगा र नेपालगन्ज क्षेत्रमा भारी वर्षा भए पनि काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा भइरहेको छ।
यस कारण हुन्छ उपत्यकामा डुबान
पूर्वाधारविद् सूर्यराज आचार्य उपत्यकामा अव्यवस्थित कंक्रिटको बस्तीका कारण प्राकृतिक रूपमा जमिनमुनि पानी सोस्ने क्रम घटेसँगै डुबानको समस्या देखिएको बताउँछन्। ‘पहिले प्राकृतिक रूपमा पानी सोस्ने प्रक्रिया भइराख्थ्यो,’ उनले भने, ‘अहिले जताततै कंक्रिटका भवन बने, खोला–नदी अतिक्रमणमा परे। पानीको निकास नभएकाले बस्ती नै जलमग्न हुन पुगेको हो।’ उनका अनुसार अकासे पानी प्राकृतिक रुपमा जमिनमुनि जानै पाउँदैन। यसले गर्दा घरघरमा पानी पसेर डुबान हुने समस्या देखिएको हो।
वातावरणविद् भूषण तुलाधर अव्यवस्थित सहरीकरणका कारणले उपत्यकामा बाढी तथा डुबानको प्रकोप देखिएको बताउँछन्। ‘उपत्यकामा यसअघि पनि अविरल वर्षा हुन्थ्यो तर अहिलेजस्तो बस्ती नै डुबानमा पर्दैनथ्यो,’ उनले भने, ‘अहिले सहर बनाउने नाममा कालोपत्रे सडक बनायौं, कंक्रिटका घर ठडायौं, जसका कारणले अकासे पानी जमिनले सोस्नै पाउँदैन।’
प्रकाशित: २२ श्रावण २०७५ ०१:०० मंगलबार