समाज

समीक्षा मृत्यु प्रकरण : बाबु, हजुरआमा र फुपु पुर्पक्षका लागि थुनामा

बुटवल— जिल्ला अदालत रुपन्देहीले समीक्षा ठकुरीको हत्या अभियोग लागेका तीन जनालाई पुर्पक्षकालागि थुनामा पठाएको छ।

रुपन्देहीको कञ्चन गाउंपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई कर्तव्य गरी मारेको अभियोगमा परिवारकै तीन जना पक्राउ परेका थिए। आफ्नै छोरी र नातीनी मारेको अभियोगमा प्रहरी हिरासतमा रहेका समिक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला  ठकुरी र  फुपू अमृता भन्ने शोभा राना ठकुरीलाइ पुर्पक्षकालागि जिल्ला कारागार पठाइएको छ। 

आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले समीक्षाका बाबु, हजुरआमा र एक जना फुपूलाइ पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो। हत्या अभियोग लागेकी अर्की फुपु मधु ठकुरी थापा भने फरार छन्।

कर्तव्य ज्यान मुद्दामा वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका सहायक जिल्ला न्यायाधीवक्ता आनन्द शर्मा र प्रतिवादीका तर्फबाट अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका थिए।  अदालतको आदेश पछि मृत्तक किशोरीका मामा बोम दर्लामीले लामो समयपछि  बल्ल न्यायको आशा जागेको बताए।

गत असार ९ गते राती आफ्नै घरमा सुतीरहेको अवस्थामा समीक्षाको शरीरमा मट्टीतेल छर्केर आगो लगाइएको थियो। शरीरको बिच भाग जलेर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो। समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्केर आफ्नी छोरीलाइ मार्ने उद्देश्यले परिवारकै सदस्यले मट्टितेल छर्केर आगो लगाइदिएको दावी सहित किटानी जाहेरी दिएकी थिइन्।  

किटानी जाहेरीका आधारमा प्रहरीले परिवारकै तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गरी हिरासतमा राखेको थियो। अनुन्धानका क्रममा पेश भएका प्रमाण र बयानका आधारमा अभियुक्तहरुलाई पुर्पक्षकालागि थुनामा पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

स्थानीय पिसल्याण्ड भुपुसैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत किशोरी गत कात्तिक देखि कञ्चल गाँउपालिकाको पिपरीचापामा रहेको आफ्ना बाबुको घरमा बस्न थालेकी हुन। श्रीमानले अर्को बिहे गरेर कुटपिट गर्न थालेपछि समिक्षाकी आमा छोरीलाइ लिएर माइतीमा बस्दै आएकी थिइन। डेढ बर्ष अघि आमा मायालेपनि अर्को बिहे गरेर विदेश गएपछि समीक्षा गत कार्तिकदेखि बाबुको घरमा बस्न थालेकि थिइन्।

आइतबार जिल्ला अदालतले अभियुक्तहरुलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएपछि किशोरीकि आमाले मृतकको दाहसंस्कार गर्न राजी भएकी छन। यसअघि समीक्षाकी आमा र मावलीले दोषीलाइ कारबाही नभएसम्म शव नबुझने अडान लिदै आएका थिए।

 

प्रकाशित: २१ श्रावण २०७५ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App