समाज

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

सुर्खेत - जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सञ्चालनका लागि प्रहरी निरीक्षकको कमाण्डमा सात सदस्यीय टोली खटाएको छ।

‘विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै लागूऔषधको कुलतमा फस्दै जान थालेपछि विद्यालय सचेतना कार्यक्रम सुरु गरेका हौं’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी श्यामसिंह चौधरीले भने, ‘यसलाई वर्षभरी निरन्तरता दिन्छौं।’ प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षमा विभिन्न विद्यालयमा अध्ययनरत ४६३ विद्यार्थी लागूऔषधसहित पक्राउ परेका थिए। उनीहरु सबै सातदेखि १० कक्षासम्म अध्ययनरत थिए। 

‘पक्राउ परेका ति विद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शपछि अभिभावकको जिम्मा लगाएका थियौं’ डिएसपी चौधरीले भने, ‘विद्यार्थीमा लागूऔषधको कुलत बढ्दै गएको देखिएपछि यो अभियान सुरु गरेका हौं ।’ प्रहरीले लागूऔषध दुर्व्यसन , यसबाट हुने असरहरु, लागूऔषध नियन्त्रण ऐन–२०३३, लागू पदार्थको दुरुपयोग, दुर्व्यसनी, लागूऔषधका प्रकार, हुने सजायलगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनेछ।

 

प्रकाशित: १७ श्रावण २०७५ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App