समाज

सहकारीमा पाँच लाखकाे चोरी

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर १२ को प्रभात दिदि बहिनी बचत तथा ऋण सहकारीमा चोरी भएको छ। गए राती झ्यालको ग्रिल बङ्ग्याएर सेफमा राखिएको पाँच लाख रुपैयाँ चोरी गरिएको हो। सोमबार बिहान कार्यालय खोल्दा सेफ फोरिएको पाईएपछि प्रहरीलाई खबर गरिएको थियो। 

कार्यालयको पछाडीको झ्यालको ग्रिल बङ्ग्याएको र सेफ फोरिएको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब निरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। ‘जुन ठाउँ सेफ राखिएको छ त्यो ठाउँबाट पैसा मात्र झिकिएको पाईएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भैरहेको छ।’

सहकारीमा बुझ्दा यसअघि कहिले पनि चोरी भएको परिमाणको रकम सहकारीको कार्यालयमा नराखिएको पाईएको उनी बताउँछन्। गएको आर्थिक वर्षमा मात्र जिल्ला प्रहरी कार्यालयमा सात वटा सहकारीमा चोरी भएको निवेदन परेको उनले जानकारी दिए। निवेदन आएका मध्ये चार वटा सहकारीका चोरलाई पक्राउ गरि कानुनी कारबाही अघि बढाईएको प्रवक्ता ढकालले बताए। सहकारीमा यसअघि गत वर्ष दश हजार देखी डेढ लाख रुपैयाँसम्म चोरी भएको पाईएको ढकाल बताउँछन्। 

 

 

प्रकाशित: १४ श्रावण २०७५ १३:०६ सोमबार

सहकारीमा लाखकाे चोरी