समाज

विद्यालय अध्यक्षको शव फेला, हत्याको आशंका

इलाम – इलामको देउमाई नगरपालिका–१, चमैतामा एकजनाको शव ‘शंकास्पद हत्या’को अवस्थामा फेला परेको छ। स्थानीय सिद्धदेउमाई आधारभूत विद्यालयका अध्यक्ष ४७ वर्षीय मचिन्द्र राईको शव घरभन्दा करिब ५ सय मिटरमा रहेको खोल्सामा भेटिएको हो। 

बुधबार साँझ घरनजिकैको देउराली बजारतिरै हिँडडुल गरिरहेका उनको शव बिहीबार बिहान मेची राजमार्गभन्दा करिब १० मिटर तल भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए। ‘शवको प्रकृति हेर्दा कसैले घिसारेजस्तो देखिएकाले भीरबाट आफैं लडेजस्तो पनि लाग्दैन तर अनुसन्धान भइरहेको छ,’ घटनास्थल पुगेर फर्केका एसपी श्रेष्ठले भने, ‘मृतकको साथमा नगद १८ हजार ९ सय ३५ रुपैयाँ पनि फेला पर्यो तर मोबाइल फेला परेन।’

मृतकका भाइ राम राईले टाउको र शरीरका विभिन्न भागमा चोटैचोट रहेकाले कसैले उनको हत्या गरेको हुनसक्ने आशंका रहेको बताए। ‘फलामका हतियारभन्दा पनि ढुंगा–मुढा प्रयोग भएजस्तो देखिन्छ,’ उनले भने। मृतकको शव पोस्टमार्टमका लागि इलाम अस्पताल ल्याइएको छ।

प्रकाशित: ३ श्रावण २०७५ ०९:१० बिहीबार

विद्यालय अध्यक्षको शव फेला हत्याको आशंका