समाज

साना हतियारको विगविगी

काठमाडौं - काठमाडौं उपत्यकामा साना हतियारको किनबेच तथा प्रयोग बढ्न थालेको छ । ललितपुरको नख्खिपोटबाट दुई दिनमै चार थान पेस्तोल र ६१ राउण्ड गोली बरामद भएपछि यसको प्रयोग र किनबेच बढेको खुलेको हो ।

प्रहरीले एउटै समूहका पाँचजनालाई खरिद बिक्रीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । आइतबार र सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको संयुक्त टोली तथा अपराध महाशाखाको टोलीसमेतको सर्च अपरेसनमा हतियार ल्याउने मध्येका प्रमुख व्यक्ति रोशन सुब्बासहित पाँच जनालाई पक्राउ गरेको थियो।

गत आइतबार काठमाडौं र ललितपुर प्रहरी परिसरले पेस्तोल बिक्री गर्न हिँडेका ३ जनाको समूहलाई पक्राउ गरेलगत्तै त्यसको भोलिपल्ट भारतबाट हतियार ल्याएर काठमाडौं उपत्यकामा बिक्री गर्ने सुब्बालाई पक्राउ परेका हुन् ।

विगतमा गुण्डा नाइके चक्रे मिलनको समूहमा रहेर गुण्डागर्दीमा संलग्न सुब्बाले नै भारतबाट हतियार ल्याएर बेच्न थालेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेले दिएको बयानको आधारमा सुब्बा र रामचन्द्र अधिकारी पक्राउ परेका हुन् ।केही समयअघि प्रहरीले गरेको अध्ययनअनुसार काठमाडौंको ठमेल क्षेत्रमा सबैभन्दा धेरै साना हतियारको कारोबार हुने गरेको छ ।

नेपालमा धेरै बरामद हुने साना हतियारमा कटुवा पेस्तोल, सिक्सर र आधुनिक पेस्तोल छन् ।२०७५ वैशाख ८ गते ठमेलको ज्याठाबाट पेस्तोल १ थान र ५ राउण्ड गोलीसहित एक जना पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले दिएको जानकारी अनुसार २०७५ वैशाख २२ मा महाराजगन्जबाट १ थान पेस्तोल र ३ राउण्ड गोली, २०७५ जेठ ३० गते ठमेलबाट १ थान रिभल्वर फेला परेको थियो भने २०७४ फागुन ३० मा गौशलाबाट पेस्तोल एक थानसहित ६ राउण्ड गोलीसहित एक जना पक्राउ परेका थिए।

पक्राउ परेका व्यक्तिहरुबाट पनि हतियार कहाँबाट ल्याएको भन्ने केही खुलेको थिएन । प्रहरीले पछिल्लो पटक ठमेल तथा दरबारमार्ग क्षेत्रमा हतियारको कारोबार हुने र व्यापारीलाई धम्क्याउने गरेको सूचना पाएपछि निगरानी बढाएको थियो । सोमबार पक्राउ परेका सुब्बाकै समूहले यसअघि बरामद गरेको हतियार बिक्री गरेको आशंकमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कतिमा पाइन्छ हतियार
प्रहरीका अनुसार कटुवा पेस्तोल भारतको रक्सौल, रुपैडियालगायत सिमा क्षेत्रमा ६ हजारदेखि ८ हजार रुपैयाँमा पाइन्छ । त्यहाँबाट नेपालको तराईसम्म आउँदा सो पेस्तोलको १० हजारदेखि १५ हजार तथा काठमाडौंमा ल्याउदा त्यसको मूल्य बढेर ३० हजार पर्ने गरेको छ ।

हतियार ल्याउने समूहले कटुवा पेस्तोलको मूल्य कम्तीमा ५० हजार र बढीमा ६० हजार लिएर बेच्ने गरेका छन् । त्यसैगरी सिक्सर पेस्तोलको भारतमा खरिद गरी काठमाडौंसम्म ल्याउदा ५० देखि ६० हजार सम्म पर्ने र बिक्री गर्दा ८० हजारभन्दा माथि पर्ने पनि प्रहरी अनुसन्धानले जनाएको छ । जर्मन वा इटालियन मेड लेखेको आधुनिक पेस्तोल भारतमा ४० हजार देखिमाथि खरिद गरी काठमाडौंमा एक लाखदेखि १ लाख ५० हजारसम्म बिक्री गर्ने गरेको पनि प्रहरीको दाबी छ ।

परिसर प्रमुख एसएसपी पोखरेलका अनुसार हतियार किन्नेहरुले जति पनि पैसा हाल्न तयार हुने र बिक्री गर्नेहरुले पनि जतिसक्दो बढी मूल्य लिने गरेका कारण भारतीय बजारमा सहजै सस्तो दरमा पाइने हतियार नेपालमा महंगो मूल्यमा बेचिन्छ ।

‘गुण्डागर्दी गर्न, पैसा असुली गर्न र व्यापारी तथा ठेकेदारहरुलाई धम्क्याउन साना हतियार प्रयोग भएको पाइन्छ । सकेसम्म यस्ता हतियारको बिगबिगी नहोस् भन्नलाई विशेष योजनासहित परिसर काठमाडौंले काम गरिरहेको छ,’ एसएसपी पोखरेलले भने । उनका अनुसार भारतबाट तराई हुँदै काठमाडौं छिर्ने हतियार कारोबारमा तीन तहको गिरोह संलग्न छ । पहिलो गिरोहमा भारतीय नागरिकले नेपाल भारतीय सीमा क्षेत्रसम्म हतियार ल्याउने काम गर्छन् भने दोस्रो तहमा रहेका नेपाली नागरिकले काठमाडौंसम्म ल्याउँछन र काठमाडौंमा रहेको गिरोहले खरिद गर्न तयार भएको समूहलाई बिक्री गर्ने गरेको छ।

पछिल्लो पटक महानगरीय प्रहरी आयुक्त कार्यालयको दिएको विवरणअनुसार गएको ४ वर्षमा राजधानीमा ८५ थानभन्दा बढी विभिन्न साना हतियार बरामद भएका छन् । हतियारसहित १ सय ६० जनाभन्दा बढी मानिस पक्राउ परेका छन । चालू आर्थिक वर्षको ६ महिनामा १ दर्जनभन्दा बढी हतियार बरामद भइसकेको छ । आर्थिक वर्ष २०७१-७२ मा २५ थान हतियार बरामद भएका थिए । यो संख्या २०७२÷०७३ मा घटेर १७ थानमा झर्यो ।

त्यसैगरी २०७३-०७४ मा घटेर १० थानमा सीमित भयो । ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार हतियार बिक्री वितरण गर्ने एउटा समूह मात्रै पक्राउ भएको हो यस्तो समूह अर्को पनि हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘ललितपुरबाट हतियारसहित पक्राउ परेको समूह सामान्य होइन यसले बिक्री गर्ने लक्षित समूहसम्म पुग्ने प्रहरीको उद्देश्य हो । हामी थप अनुसन्धानमा छौं,’ एसपी खनालले भने ।

पछिल्लो पटक काठमाडौं परिसरले दिएको जानकारी अनुसार २०७३÷०७४ मा हातहतियार तथा खरखजना सम्बन्धी ८ वटा मुद्दा दर्ता भएका थिए भने २०७४÷०७५ मा यसको संख्या बढेर १६ वटा मद्दा दर्ता भएका छन् । परिसर काठमाडौंका अनुसार मुद्दा संख्या बढे पनि अवैध हतियार नियन्त्रणमा प्रहरीको सक्रियता कायमै रहेको छ । ‘मुद्दाको संख्या बढेको छ भनेर हामी चुप लागेर बसेका छैनौं साना हतियार खरिद बिक्री हुने, प्रयोग हुने र काठमाडौमा यस्ता हतियार भित्रन नदिन हाम्रो प्रयास जारी रहनेछ,’ काठमाडौं मुद्दा शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनकुमार थापाले भने ।

प्रकाशित: ३ श्रावण २०७५ ०१:५८ बिहीबार

साना हतियारको विगविगी