समाज

डा. केसीको अवस्था गम्भीर, चिकित्सकले दिए चेतावनी

काठमाडौं– चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

डा. केसीको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पुजन रोकाया, सिद्धार्थ थामी र धिरज गुरुङले बुधबार संयुक्त विज्ञप्तिमार्फत केसीको स्वास्थ्य अवस्था खस्किएको र जुनकुनै बेला पनि सिसियुमा राखेर उपचार गर्नुपर्ने बताउँदै यो सुविधा कर्णालीमा नभएको जानकारी गराएका छन्। उनीहरुले सिसियुको सुविधा नभएका कारण जुनसुकै बेला डा केसीको स्वास्थ्यमाथि तलमाथि हुनसक्ने चेतावनी समेत दिएका छन्। 

उनीहरुका अनुसार केसीको मुटुमा गम्भीर समस्या देखिएको छ। पहिलेको तुलनामा मुटुका गढबढिहरु धेरैपटक र धेरैको संख्यामा देखा पर्न थालेका छन्। यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नशामा पनि संक्रमण देखिएको छ। यो सँगै डा. केसीका दुवै हातका नशा संक्रमित भएका छन्। 

निरन्तर घटिरहेको सेतो रक्तकोशिका र यस किसिमको बढ्दो संक्रमणका कारण अब झन सेप्सिसको जोखिम बढेको छ। रगतमा पोटासियम, म्याग्नेजियम र क्यालसियमको मात्रा निकै नै कम भइसकेको छ। 

यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पूर्ण जोखिमका बारे डा.केसीलाई बताइएपनि उनले ती तत्वहरु लिन अस्वीकार गरेको डा रोकायाले बताए। 

उनका अनुसार श्वासप्रश्वासमा झन कठिनाइ देखिएको छ, जसका कारण चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको छ। छाती दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन्। निरन्तर नसाबाट स्लाइन पानी दिइनुको बाबजुद डिहाइड्रेसन (जलवियोजन)का लक्षणहरु देखिएका छन्। 

प्रकाशित: २ श्रावण २०७५ १३:०१ बुधबार

डा. केसीको अवस्था गम्भीर चिकित्सकले दिए चेतावनी