समाज

ठेकेदारको लापरबाहीले विद्यालय भवन अलपत्र

रोल्पा – रोल्पाका बिभिन्न विद्यालयहरुमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले विद्यालयबाट ठुलो रकम लिएको भए पनि सामाग्री बुझाएका छैनन्।

प्रति विद्यालयको सामाग्री ५ लाख १० हजारमा खरिद गरि गाडि जाने ठाउँसम्म ढुवानी समेत गरिदिने भन्दै तीन-तीन लाख पेश्की लगेका ठेकेदारले सामाग्री दिएका ठाउँमा पनि अपुरो दिएका छन्। २५ वटा विद्यालयका लागि ५ लाख १० हजारका दरले सम्झौता गरेका ठेकेदारले ७५ लाख बढि पेश्की समेत लगिसकेका छन्।

‘हाम्रो स्कुलबाट ३ लाख पेश्की उहिल्यै लगेका हुन्। भोली भोली भन्दा भन्दै ६ महिना भयो। जहिले फोन गरे पनि सामान लोड गरेको छ, भोली आउँछ मात्र भन्छन्। पेश्की लगेको २० दिनमा सामाग्री बुझाउने सम्झौता भएको थियो,’ भगवती आधारभुत विद्यालयका शिक्षक चित्रबहादुर बुढामगरले भने, ‘हाम्रो माडि गाउँपालिकाको ३ स्कुलको बिचल्ली भएको छ। धेरै जसो विद्यालयहरुमा अन्य काम सकिएको भए पनि ट्रस र जस्तापाता नहुदा समस्या परेको छ।’ वर्षातको समय भएकाले पनि कतिपय विद्यालयको बिजोग भएको उनले बताए। बालुवा र खनेको जगमा पानीले क्षती पुर्याएको उनले बताए।

बागेश्वरी स्टिल स्टक्चर प्रालि नेपालगञ्जको प्रतिनिधिका रुपमा भुवनेश्वरी ट्रेडस एण्ड सप्लायर्स सल्यानका प्राण कुमार राईले २०७४ माघ १० गते २० दिन भित्र सामान पठाउने भन्दै सम्झौता गरेका थिए। ठेकेदारले माडि गाउँपालिकाका ३ र रोल्पा नगरपालिकाको १ विद्यालयमा एउटा पनि सामाग्री दिएका छैनन् भने दिएका अन्य विद्यालयमा पनि अपुरो सामाग्री दिएका छन्।

माडि गाउँपालिकाका शिक्षा श्रोत ब्यक्ति कबिराज रिजाले विद्यालयले आफुले गर्ने अन्य काम गरेपनि ट्रसको सामाग्री नआउँदा अन्य काम ठप्प भएको बताए। उता नगरपालिका भित्र पनि समस्या त्यस्तै छ। रोल्पा नगरपालिकाका शिक्षा श्रोत ब्यक्ति राजेश धितालले सल्लाघारी प्राविमा एउटा पनि सामान नआएको बताए।

उता सामाग्री खरीदको जिम्मा लिएका ठेकेदार राईले भने आफुले सामान लोड गरिसकेकाले दुई चार दिनमै पुग्ने बताए। ‘भ्याट बिलहरु पठाइसकेको छु। रकम भुत्तानीमा समस्या पर्दैन,’ उनले भने, ‘सम्झौताको केहमी दिनमै सामानको मूल्य बृद्धि भएकाले समस्या भएको हो।

ठेकेदारले समयमा सामाग्री नदिँदा धेरै विद्यालयको भुक्तानी पाउन बाँकि छ। असार मसान्त पछि फ्रिज जाने यो निर्माणको रकम कसरी रोक्ने भन्नेमा जिल्ला शिक्षा कार्यालय पनि अलमलमा छ। ‘विद्यालयले योजना निर्माण नहुँदै झिक्न नपाउने गरि खातामा हालौ कि भन्ने सोच छ। कसरी मिल्छ छलफल मै छौ,’ शिक्षा विकास इकाई प्रमुख दानबहादुर गुरुङले भने, ‘कसरी मिलाउने हो समस्या भने परेको छ।’

पटक–पटक जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ठेकेदारले सम्झौता अनुसार सामाग्री नदिएको भन्दै गुनासो गरेका विद्यालयका प्रधानाध्यापकहरुले न्याय नपाएको गुनासो गर्ने गरेका छन्। केहि समय अगाडि जिल्ला शिक्षा कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय बाके, सल्यान र रोल्पामा समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्न भन्दै पत्राचार गरिसकेको छ। ठेकेदारले सामान ल्याइरहेको भन्ने सुने पनि अनुगमन गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले बताए।

प्रकाशित: ३२ असार २०७५ ०६:२४ सोमबार

ठेकेदारको लापरबाहीले विद्यालय भवन अलपत्र