समाज

राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका ३ जना पक्राउ

काठमाडौं– राजधानीको नयाँ बजारमा मरेका कुखुरा बेच्न हिडेका ३ जनालाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले विहीबार चेकजाँचका क्रममा मरेका कुखुरा बोकेर महैपी खोला किनाराको बाटो हुँदै नयाँ बजारतर्फ आइरहेको बा.१७ च. १२३६ नं. को पिकअप भ्यानसहित हेटौडा घर भएका चालक ३५ वर्षीय चन्द्र बहादुर अधिकारी, सहचालक ईचुङ्ग ४ घर भएका २० वर्षीय अनिष दोङ्ग र कुखुरा व्यापारी हेटौडा घर भएका २० वर्षीय हिमाल बर्तौलालाई नियन्त्रणमा लिएको हो।

कामपा १६ नयाँ बजार एरियामा बिक्री बितरण गर्दै हिडेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले निगरानी बढाएर चेकजाँच गर्दा मरेको कुखुरा बरामद भएको हो। यससँगै काठमाडौंमा मरेका कुखुरा पनि विक्री वितरण हुने गरेको तथ्य बाहिर आएको छ। मरेका कुखुरालाई हेटौंडाबाट ल्याइएको थियो। 

प्रहरीका अनुसार गाडीको पछाडी ३ वटा प्लाष्टिकको बोरामा र भेनको पछाडिको खाली भागमा समेत गरी १७० वटा मरेको बोईलर कुखुरा थियो। व्यापारीले मरेका कुखुरा राजधानीका विभिन्न होटलमा विक्री वितरण गर्दै आइरहेको अनुसन्धानमा खुलेको छ।

बरामद गरिएका कुखुरालाई नष्ट गरिएको र पक्राउ परेकाहरुमाथि कालो बजारी ऐनअन्तर्गत कारवाही अघि बढाइएको काठमाडौंका प्रहरी प्रवक्ता मोहन कुमार थापाले जानकारी दिएका छन्। 

प्रकाशित: २३ असार २०७५ १२:४६ शनिबार

राजधानीमा मरेका कुखुरा बेच्दै हिडेका जना पक्राउ