समाज

नेपालका पूर्वी शहरमा पनि सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जाल

धरान – रूसमा जारी विश्वकप फुटबलमा जित–हारको सट्टेबाजी पूर्वका प्रमुख शहरहरूमा अत्यधिक भइरहेको पाइएको छ।  जानकारहरूका अनुसार पूर्वका धरान, इटहरी र विराटनगरलगायत प्रमख शहरहरूमा सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जालका एजेन्टहरू छन्, जसलाई बुकी भन्ने गरिन्छ। 

धरान र विराटनगरका ठुला व्यापारीमार्फत सट्टेबाजीमा करोडौं लगानी भइरहेको छ। केही दिनयता धरान प्रहरीले सट्टेबाजी खेलाउने २ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान ११ का भरत गुरुङ र धरान १६ का रुद्र धमला छन्। 

सट्टेबाजीमा पक्राउ परेका दुवैलाई प्रहरीले सार्वजनीक अपराधअन्र्तगत मुद्दा दर्ता गरेर हिरासतमा राखेको छ। स्थानीय एजेन्ट(बुकी)हरूलाई मोवाइल एप्समार्फत सट्टेबाजी खेलाइरहेको प्रहरीले जनाएको छ। 

‘सुचनाको आधारमा भरत गुरुङलाई पक्राउ गर्यौं, उनी पक्राउ परेपछि भरतलाई म्यासेज नगर्नु भन्दै हिडिरहेको बेला राती रुद्र पनि समातिए,’ डिएसपी रामेश्वर पौडेलले भने,‘रुद्र धरानमा सट्टेबाजी खेलाउने मुख्य मान्छे रहेछन्।’

प्रहरीका अनुसार नकआउट चरणमा जर्मन र कोरियाको खेल हँुदा १ को १५ अनुपतमा बाजी खेलाएका थिए। जर्मनमा बाजी थाप्नेहरूले जित्दा १ लाखको थप १ लाख मात्र पाउथे भने कोरियाले जित्दा १५ लाख पाउथे। सट्टेबाजीका मुख्य नाइके धरानका रवि राईलाई प्रहरीले फरार सुचीमा राखेर खोजी गरिरहेको छ। 

धरानमा रेष्टुरेष्ट तथा बार चलाउने उनी विश्वकपमा सट्टेबाजी खेलाउनकै लागि दुबई गएका थिए। त्यहाँबाट काठमाडौं फर्किसकेको सुचना प्रहरीले पाएपनि उनी कहाँ छन् भनेर पत्ता लगाउन सकेको छैन। विश्वकप खेल हुने दिन सट्टेबाजी नियन्त्रणको लागि सिभिलमा प्रहरी परिचालन गरेर कडाई गरिएको डिएसपी पौडेलले बताए।

सट्टेबाजी जानकार स्रोतका अनुसार धरानबाट मात्र विश्वकप खेल हुँदा कम्तीमा १ करोडको बाजी हुने गरेको थियो। शुक्रबारदेखि क्वाटरफाइनल खेल शुरु हुने भएकोले कारोबार झनै वृद्धि हुने उनको भनाई छ। ती स्रोतले पनि प्रहरीकै भनाईलाई पुष्टि गर्दै धरानका रवि नै मुख्य कारोबारी भएको बताए।

‘धरान र विराटनगरमानै धेरै सट्टेबाजी हुुन्छ, इटहरीमा अलिक कम हुन्छ। जती बुकीहरू छन्, ती सबैबाट पैसा कलेन्सन भएर पुग्ने भनेको रविलाई नै हो, उनी अन्तर्राष्ट्रिय सञ्जालको नेपाल एजेन्ट हो,’स्रोतले भन्यो,‘कमजोर टिममा बाजी राख्नेलाई उसको टिमले जित्यो भने बढी पैसा पाउने हुन्छ। ड्र हुँदाको पनि बाजी राख्ने विकल्प हुन्छ। सबै ९० मिनेटको खेलभित्रको मात्र हिसाब हुन्छ।’ 

धरानका सामान्य बुकी (एजेन्ट)ले पनि कम्तीमा २ लाख कलेक्सन गरिरहेका हुन्छन। उनीहरूले संकलन गरेको पैसा हुण्डी करोबारी र मनी ट्रान्फसर कम्पनीमार्फत सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जालको नेपाल एजेन्टलाई पुग्ने स्रोतको भनाई छ। 

सट्टेबाजीको नाममा नेपालबाट करोडौं रुपैयाँ बाहिरिरहेको छ। इन्टरनेटमार्फत उपलब्ध अन्तर्राष्ट्रिय रेट बुकीहरूमार्फत सट्टेबाजी खेल्ने व्यापारी, युवाहरुको मोवाइलमा एसएमएसमार्पmत पुग्छ। इच्छुकहरूले त्यही रेट हेरेर बाजी थाप्छन्। शुक्रबार दिउँसो पहिलो क्वाटरफाइनल खेलको रेट उरुग्वेको पक्षमा ३.४० पैसा र ड्र भए २ थियो भने फ्रान्सको पक्षमा ०.८५ पैसा थियो। 

तर, फ्रान्सले जित्दा उसको पक्षमा बाजी थाप्नेले १ लाखको मात्र ८५ हजार पाउछन्। यस्तै, ब्राजिल र बेल्जियमको खेलमा ब्राजिले जितेमा ०.८० र ड्र हुँदा २.१० थियो भने बेल्जियमको जितमा २.५० थियो। ‘युवाहरू सबै जसो बाजी खेल्छन्, सट्टेबाजीबाट नेपालको करोडौं करोड बाहिर गइरहेको छ,’स्रोतले भन्यो।

प्रकाशित: २२ असार २०७५ १२:१९ शुक्रबार

नेपालका पूर्वी शहरमा सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जाल