समाज

‘छोराको काल बनेर बुहारी भित्रिएकी रहिछिन्’

हत्या गरिएका तेजबहादुरकी बहिनीलार्इ सम्हाल्दै अाफन्त । तस्बिर : नागरिक

धनगढी– संगै बाच्ने, संगै मर्ने बाचासहित विवाह बन्धनमा बाधिएका जोडीका लागि सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्। भारतको चेन्नईमा होटलमा मजदुरी गर्ने कञ्चनपुर पुनर्वास २ बस्ने २५ बर्षीय तेज बहादुर बिष्टका लागि यिनै रमाइला दिन कालमा परिणत भएका छन्। आफ्नो सुन्दर नयाँ जीवन र भविश्यको सपना बुनिरहेका बेला डेढ महिनाअघि विहे गरेर भित्र्याएकी श्रीमती उनका लागि काल बनिन्। ‘जेठो छोराकै भरमा पुरै परिवार थियो, बिहे भएपछि आमा तपाईलाई सुख हुन्छ भन्थ्यो’, उनकी बृद्ध आमा हिरा बिष्टले भक्कानिदै भनिन्– ‘सुखका दिन आउलान भनेको त छोराको काल बनेर बुहारी भित्रिएकी रहिछन्।’ गोदावरी नगरपालिका ११ ओलानी बस्ने २२ बर्षीय लक्ष्मी बडेलाले आफ्ना प्रेमी गोदावरी १२ बस्ने २४ बर्षीय दिपक खत्रीसँग मिलेर नाटकीय रुपमा तेज बहादुरलाई भासुको भिरमा खसालेर हत्या गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार लक्ष्मी र दिपकले हत्या गरेको स्विकारेका छन्।

अमाको सक्रियताले हत्यारा पक्राउ

भारतस्थित चेन्नईको होटलमा तेज बहादुर बिष्ट काम गर्थे। उनका लागि  गोदावरी नगरपालिका ११ बस्ने लक्ष्मी बडेलाको हात उनका परिवारले दुई बर्ष अघि मागेका थिए। युवती कक्षा १० मा पढिरहेको र भारतमा मजदुरी गर्ने युवकले पनि बिहेका लागि केही पैसा जम्मा गर्नुपर्ने भएकाले ढिलो बिहे गर्ने सहमति भयो। दुई बर्षसम्म दुवैबीच फोनमा कुरा भइरह्यो। गत बैशाख १६ गते दुवै जना विवाह बन्धनमा बाधिए। 

बिहे भएपछि केही दिनमात्र श्रीमानसँग बसेर कक्षा ११ को परीक्षा दिन्छु भनेर लक्ष्मी माइतीमै बसिन। परीक्षा सिध्याएर उनी घरमा फर्किन। श्रीमानसँग दुई तीन साता बसेर जेठको तेस्रो साताको सुरुतिर उनी माइत गइन्। ‘माइत गएको २१ दिन भएको थियो, फोन गरेर बोलाएकोले असार ८ गते छोरो लिन गएको हो’, मृतककी आमा बिष्टले भनिन्–‘असार ८ गते साँझ ८ बजे छोरोले भोलि बिहान आउँछु भनेर फोन गरेको थियो।’ बिहान ८ बजे बुहारी लक्ष्मीले फोन गरेर हिजो साँझ गएका अहिलेसम्म फर्केका छैनन् भनेर जानकारी दिएपछि उजुरी लेखेर मालाखेती प्रहरी चौकीमा गएर दिएको उनले बताइन्। ९ गते नै छोरो हराएको उजुरी दिएपनि मालाखेती प्रहरीले असार ११ गतेमात्र हराएको सूचना सार्वजनिक गरेको उनले सुनाइन् । छोराको सम्पर्क नभएपछि उनी शंका लागेर लक्ष्मीको माइती घरमा पुगिन्। छोराका जुत्ता र टोपी त्यहाँ देखेपछि छोरोको हत्या भएको उनलाई शंका लाग्यो। उनले प्रहरीलाई छोराको हत्या भएको हुनसक्ने भन्दै जुत्ता र टोपी भेटिएको  जानकारी दिइन्। ‘उनकी आमाले घरमा जुत्ता र टोपी छ भनेपछि हामीलाई अनुसन्धान गर्न सहयोग पुग्यो’, प्रहरी उपरीक्षक घिमिरेले भने, ‘हामीले उनको श्रीमती लक्ष्मी र लक्ष्मीसँग लामो समयदेखि प्रेममा रहेका दिपक खत्रीलाई पक्राउ गरेर ल्याएर अनुसन्धान गर्दा उनीहरुले हत्या गरेको स्वीकारे।’ उनले दिएको बयानकै आधार मंगलबार भासुको भिरको खोल्साबाट बिभत्स रुपमा सड्न लागेको तेजबहादुरको शव निकालेर ल्याइएको छ।

घटना यसरी भयो 

गोदावरी नगरपालिका ११ बस्ने २२ बर्षीय लक्ष्मी बडेलाको वडा नम्बर १२ बस्ने २४ बर्षीय दिपक खत्रीसँग पहिलेदेखि प्रेम सम्बन्ध थियो। दीपक आफ्नै बस चलाउने गर्थे। लक्ष्मी र दीपकको परिवारले बिहे गर्न अस्वीकार गरे। लक्ष्मीले दीपकलाई भगाएर लैजान भन्दा उनले आँट गर्न सकेनन्। बिहे भएपछि भेट र फोनमा लक्ष्मीले श्रीमानसँग जीवन बिताउन नसक्ने भन्दै  हत्या गर्न प्रेमीलाई दबाब दिने गरिन्। ‘के मलाई मार, के मेरो श्रीमानलाई मार भनेर मलाई भनेको भन्यै गरेपछि मैले उनको योजना अनुसार हत्या गरेको हुँ’, दीपकले प्रहरी बयानमा भनेका छन्। 

लक्ष्मलिे दीपकलाई आफ्नो बहिनीका श्रीमान इन्द्र भनेर श्रीमान तेजबहादुरसँग चिनजान गराइन्। असार ८ गते साँझ योजना अनुसार खत्रीले साढु भाई इन्द्र हुँ भनेर बिष्टलाई फोन गरेर अत्तरिया बोलाए। अत्तरियामा दुबै बसेर दीपक र तेजबहादुरले मदिरा र खाजा खाए। त्यसबीचमा लक्ष्मीले फोन गरेर आफू गोदावरी माथितिर छुँ भन्दै श्रीमानलाई झुक्याएर बोलाएको बयान प्रहरीलाई दिएकी छिन्। खत्रीले मोटरसाइकलमा बिष्टलाई राखेर भासुको भिरमा पुगाए। भासुको भीरमा मोटरसाइकल रोकेर किन श्रीमतीलाई कुटपिट गर्छस भनेर खत्रीले लठ्टीले विष्टको टाउकोमा प्रहार गरे। बिष्ट बेहोस भएर ढलेपछि उनलाई र मोटरसाइकललाई भिरमा फालेको बयान खत्रीले दिएको एसपी घिमिरेले बताए। असार ८ गते राती २ बजे त्यहाँबाट फालेको उनले भनेका छन्। त्यहाँबाट हिडेर बिहान उज्यालो भएपछि खानीडाँडा पुगेपछि लक्ष्मीलाई तिम्रो काम भयो भनेर फोन गरेर बताएको उनले बयानमा उल्लेख गरेका छन्। 

लक्ष्मी र दीपकले योजना बनाएर नाटकीय रुपमा हत्या गरेको बयान दिएपनि मृतकका आफन्त यो कुरा मान्न तयार छैनन्।  ‘योजना बनाएर हत्या गरेपछि मेरो दाजुलाई लगेर भासुको भीरमा फालिएको हो’, मृतकका भाई वीरबहादुर बिष्टले भने, ‘हत्यामा अरुको पनि संलग्नता रहेको छ।’ मृतक बिष्टका बुवा भारतमा मजदुरी गर्छन्। उनका भाई र दुई बहिनी अविवाहित छन्। उनमै आश्रित दुई बहिनी मंगलबार सेती अञ्चल अस्पताल शवगृह अगाडि दाईको मृत्युको शोकमा बिलौना गर्दा पटक पटक मुर्छा परिरहेको दृश्य कहालीलाग्दो देखिन्थ्यो। अत्तरिया डडेल्धुरा जिल्ला जोड्ने राजमार्गमा रहेको भासुको भिर सबैभन्दा चर्चित, भयाभह र ठूलो रहेको छ।

प्रकाशित: १२ असार २०७५ १६:१३ मंगलबार

छोराको काल बनेर बुहारी भित्रिएकी रहिछिन्