समाज

मनसुनमा पनि प्रि–मनसुनमा जस्तै वर्षा

काठमाडौं – मनसुन शुरु भएको दुई साता हुँदा समेत वर्षा भने प्रि–मनसुनकै जस्तै भइरहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। पूर्वानुमान शाखाका अनुसार हाल पूर्वी तथा मध्य क्षेत्रमा प्रि–मनसुनमा जस्तै छिटफुट वर्षा भइरहेको छ भने पश्चिमी क्षेत्रमा अहिले पनि मनसुन सक्रिय हुन सकेको छैन। ‘मन सुन सक्रिय हुँदा समेत नियमित वर्षा भएको छैन, अर्काे तर्फ पश्चिमी क्षेत्रमा लामो समय हुँदा समेत मन सुन सक्रिय हुन सकेको छैन,’ मौसमविद् बरुण पौडेलले भने । सामान्यत नेपालमा जुन १० देखि मनसुन शुरु हुने भएपनि यस पटक जुन ८ मै मनसुन सक्रिय भएको थियो।

बंगालको खाडीबाट आएको मनसुनी वायुले पश्चिमी वायुलाई विस्तापित गर्न नसक्दा पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको मौसमविद् पौडेल बताउँछन् । ‘पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायु सक्रिय भइरहेको छ, यसैको प्रभावले गर्दा मनसुन सक्रिय हुन नसकेको हो,’ पौडेलले भने। मौसमविद् पौडेल हालसम्मको मनसुनको सर्कल कमजोर भएकाले पश्चिमी वायुलाई विस्तापित गर्न नसकेको हो । हालसम्म भारतमा पनि मनसुनको सर्कल कमजोर देखिएको मौसमविद्को भनाई छ।

भारतमा गत मई २९ बाटै मनसुन शुरु भएको हो तर त्यहाँ पनि मनसुन कमजोर देखिएको छ,’ पौडेलले भने। नेपालमा मनसुनी वायु सोमलियाबाट अरब सागर हुँदै दक्षिण भारतबाट सिक्किम र बंगालको खाडी हुँदै नेपाल छिर्ने गर्छ । सोही वायुले नै जलबाष्फ युक्त बादल बोक्ने र पानी पार्ने मौसमविद् बताउँछन्।

मनसुनका बेला पनि पश्चिमी वायु शक्रिय हुँदा लामो समयसम्म सुख्खा र खण्ड खण्ड पानी परिरहेको पूर्वानुमान शाखाले जनाएको छ। यस्तो हुनुको एउटा कारण जलवायु परिवर्तन पनि भएको र यसका पछाडी अन्य कारण पनि रहेको मौसमविद् पौडल बताउँछन्। ‘मनसुनका बेला खण्ड खण्ड पानी पर्नुका पछाडी विभिन्न कारण रहेका छन् त्यसमध्य जलवायु परिवर्तन पनि एउटा हो,’ पौडेलले भने। शाखाले यो सातासम्म पश्चिमी क्षेत्रमा पनि मनसुन सक्रिय हुन सक्ने जनाएको छ। यस अघि मौसमविदहरुले दुई दिन अघि शुरु भएको मनसुन एक साताभित्र मुलुकभर सक्रिय हुने जनाएका थिए। यस वर्षको मनसुनी वर्षा औसत हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ। सामान्यत एक वर्षभरीमा मनसुनका बेला ८० प्रतिशत वर्षा हुन्छ जसलाई औषत वर्षा भनिने मौसमविद् बताउँछन्।

प्रकाशित: ११ असार २०७५ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App