समाज

ठेक्का प्रक्रियामा स्थानीय तहले चलखेल गरेको आरोप

पाताभार - सार्वजनिक खरिद ऐन टेकेर बोलपत्र आह्वान गरेका नगरपालिका र गाउँपालिकाले न्यूनतम दरभाउ कबोल गर्ने निर्माण कम्पनीको ठेक्का सदर नगरेर चलखेल गर्ने गरेको पाइएको छ। सबैभन्दा कम दरभाउको बोलपत्र स्वीकृत गर्नु पर्नेमा उच्च मूल्य कबोल गर्ने कम्पनीका ठेक्का सदर गर्न चलखेल हुने गरेको तथ्य खुलेको हो। गेरुवा गाउँपालिकाको मेसिनरी खरिद र बारबर्दिया तथा राजापुर नगरपालिकामा योजना निर्माणका लागि जारी भएका टेन्डर (ठेक्का) मा व्यापक चलखेल भएको स्रोतको दाबी छ।

प्रक्रिया पु-याएर दर्ता भएका कम्पनीका टेन्डर पटक–पटक रद्द गरेर गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले चलखेल गरेको व्यवसायीको आरोप छ। मेसिनरी सामान खरिद गर्न गेरुवा गाउँपालिकाले पहिलोपटक गत फागुन १२ गते ३० दिने सूचना, दोस्रोपटक वैशाख ३० गते १५ दिने सूचना जारी गरेको थियो । तर, दुईपटककै सूचना रद्द गरियो।

गेरुवा गाउँपालिकाको मेसिनरी खरिद तथा बारबर्दिया र राजापुर नगरपालिकामा योजना निर्माणका लागि जारी भएका टेन्डरमा व्यापक चलखेल भएको दाबी।

एकै प्रकृतिका सामान खरिद गर्न दुई पटकसम्म निकालिएको सूचना गाउँपालिकाले रद्द गर्नुपर्ने कुनै पनि कारण नरहेको व्यवसायीको दाबी छ।

गेरुवा गाउँपालिकाले फागुन १२ गते निकालेको सूचनामा भ्याकु लोडर खरिदका लागि ६ वटा कम्पनीले, ट्याक्टर खरिदका लागि सात व्यवसायीले गाउँपालिका कार्यालयमा टेन्डर दर्ता गराएका थिए।

भ्याकु लोडर खरिदका लागि न्यु होल्यान्डले ३४ लाख २५ हजार, टाटाले ३७ लाख ९५ हजार, बुलले ३७ लाख ५० हजार ,केशले ३५ लाख ३५ हजार ३ सय ५३ र जेसिबी कम्पनीले ३९ लाख ४५ हजार रुपैयाँ कबुल अंक राखेर टेन्डर दर्ता गराएका थिए। तीन हजार रुपैयाँमा टेन्डर फारम खरिद गरेका उनीहरूले गाउँपालिकाले बिना कारण बोलपत्र रद्द गरेको आरोप लगाएका छन्।

दोस्रो पटकको सूचनामा स्वराज, इन्डोफर्म, सोमडचफार, न्यु होल्यान्ड, प्रीत, एसिई र सोनालिकाले बोलपत्र दर्ता गराएका थिए। भ्याकु लोडरका लागि न्यु होल्यान्डले ३४ लाख ९१ हजार, जेसिबीले ४१ लाख ५० हजार रुपैयाँ अंक कबुल गरेका थिए । तर गाउँपालिका अध्यक्ष केसीले आफ्नो अनुकूल नभएपछि ठेक्का रद्द गरेको व्यवसायीको आरोप छ।

दुवैपटक न्यून दरभाउ कबुल गर्ने न्यु होल्यान्ड कम्पनीको ठेक्का सदर नगर्न अध्यक्ष केसीले चलखेल गरेको बिएस मोटर्स प्रालि बुटवलका प्रतिनिधि नरेन्द्र वलीको आरोप छ। ‘भ्याकु लोडर र ट्याक्टरमा न्यूनतम दर कबुल भएको न्यु होल्यान्ड कम्पनीको हो,’ उनले नागरिकसँग भने, ‘कर्मचारीले ट्याक्टर न्यु होल्यान्डलाई दिने र भ्याकु लोडर उच्च अंक भएको जेसिबीलाई दिने भन्ने कुरामा असहमति भएपछि ठेक्का रद्द गरियोे।’

गाउँपालिकाका लेखापाल तुलसी श्रेष्ठले न्यु होल्यान्डलाई ट्याक्टर र जेसिबीलाई भ्याकु लोडरको टेन्डर दिने प्रस्ताव गरेको बताउँदै वलीले भने,‘आफूखुसी किन्ने भए किन सार्वजनिक सूचना निकालेर आह्वान गर्नुप-यो?’

तर गाउँपालिका अध्यक्ष केसी भने राम्रो कम्पनीको मेसिन किन्न ठेक्का रद्द गर्नुपरेको दाबी गर्छन्। ‘सस्तोभन्दा राम्रो कम्पनीको किन्ने भन्ने मात्र हो,’ उनले भने।

यस्तै बारबर्दियाले स्थानीय तहका योजना–निर्माण ठेक्का दिँदा न्यूनतम अंक बोलकबोल गरेकालाई नदिई उच्च मूल्यको ठेक्का सदर गरेपछि मिलेमतोको रहस्य खुलेको छ। बारबर्दियामा नव प्रतिभा निर्माण कन्स्ट्रक्सन नवलपरासीले १ करोड ९४ लाख ८१ हजार ७ सय ७० रुपैयाँ २९ पैसाको ठेक्का ९० लाख १० हजार ९ सय ९२ रुपैयाँ ११ पैसामा कबोल गरेको थियो। त्यही ठेक्का कालगण्डकीले ९८ लाख २६ हजार ४ सय ४४ रुपैयाँ ६८ पैसामा कबोलेको थियो।

प्रतिस्पर्धामा न्यूनतम मूल्य कबोल गर्नेको बोलपत्र सदर नगरेर उच्च रकम प्रस्ताव गरेको कालिगण्डकीको टेन्डर नगरपालिकाले स्वीकृत ग-यो। बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारूको दबाबमा ठेक्का सदर भएको निर्माण व्यवसायीको आरोप छ।

प्रकाशित: ११ असार २०७५ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App