समाज

गैंडा स्थानान्तरण प्रभावकारी भएन

फाइल फाेटाे : नागरिक

काठमाडौ - सरकारले लोपोन्मूख प्रजातिको वंशाणु स्रोत संरक्षणका लागि ३० वर्षदेखि चितवनका गैंडा बर्दिया स्थानन्तरण गरे पनि त्यसरी सारिएका गैंडा जोगाउन भने नसकिएको देखिएको छ।

बर्दियामा सारिएका गैंडा चोरी सिकारी र स्वभाविक मृत्यु भएर घटिरहँदा पनि सरकारले गैंडा घट्नुको कारण पत्ता लगाएर त्यसको निराकरण गर्नुको सट्टा गैंडा स्थानान्तरणलाई निरन्तरता दिइरहेको छ । गैंडाका लागि उपयुक्त क्षेत्र भन्दै बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानन्तरण गरिएकामध्ये आधाभन्दा बढी गैंडा मरेका छन्।

केही वर्षयता बढेका गैंडाको संख्याले गर्दा हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैंडा छन् । सन् १९८६ देखि २००७ सम्ममा सरकारले पटक–पटक गरेर ८३ गैंडा बर्दियामा स्थानन्तरण गरेको थियो । तर २००७ को अन्तसम्म आइपुग्दा गैडाको संख्या घटेर २१ पुगेको वन्यजन्तु विज्ञ डा. नरेश सुवेदीले बताए । २००७ पछि पनि सरकारले बर्दियामा दुई पटक गैंडा स्थानन्तरण गरिसकेको छ।

१९८६ देखि २००७ सम्ममा पटक–पटक गरेर ८३ गैंडा बर्दियामा स्थानन्तरण गरिए पनि २००७ सम्म आइपुग्दा गैंडाको संख्या घटेर २१ पुगेको छ भने २०१५ को गणनाअनुसार चितवनमा ६ सय २५ गैंडा रहेका छन् । सो संख्यामा केही वृद्धि भएको अनुमान छ ।

सरकारी तथ्यांकअनुसार सरकारले पहिलोपटक सन् १९८६ मा बर्दियामा गैंडा स्थानन्तरण गरेको थियो । पहिलो पटकमा १३ गैंडा बर्दिया पुर्याइयो । त्यसपछि गैंडा सार्ने क्रम नियमित हुन थाल्यो । सन् १९९१ मा २५, १९९९ मा ४, २००० मा १६, २००१ मा ५, २००२ मा १० र २००३ मा १० गैंडा बर्दिया पुगे । तर २००७ सम्म आइपुग्दा सरकारी तथ्यांकले २१ गैडा मात्र बाँकी देखायो।

वन्यजन्तु विज्ञ डा. सुवेदी गैंडा घट्नुको कारण माओवादी द्वन्दलाई औंल्याउँछन् । ‘माओवादी द्वन्द्वका बेला गैंडाको चोरी सिकारी उच्च भएको थियो,’ सुवेदी भन्छन् । द्वन्दका बेला राष्ट्रिय निकुञ्जमा सुरक्षा व्यवस्था सबल नहुँदा तस्करहरुले गैंडाको चोरी सिकारीलाई तीव्र पारेकाले गैडाको संख्या ह्वात्तै घटेको सुवेदीको भनाइ छ ।

सरकारले दुई वर्ष अघि सन् २०१६ मा ५ तथा २०१७ मा ३ गैंडा बर्दिया स्थानन्तरण गरेको थियो । सरकारले वंशाणु स्रोत संरक्षणका लागि गैंडा स्थानन्तरण गरिएको भने पनि स्थातन्तरण अनुसारको उपलब्धि भने नदेखिएको सम्बद्ध विज्ञहरुको धारण छ । यद्यपि, सरकारले गैंडा स्थानन्तरणलाई निरन्तरता भने दिइरहेको छ।

सरकारद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण ०७४-०७५ मा पनि दुर्लभ तथा लोपोन्मूख प्रजातिको वंशाणु स्रोत संरक्षणका लागि एक सय गैंडा स्थानन्तरण गरिएको उल्लेख गरिएको छ । सर्वेक्षणले चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ र शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा ९ गैंडा स्थानन्तरण गरेको उल्लेख छ।

चितवनबाट शुक्लाफाँटा वन्यजन्तु संरक्षण क्षेत्र स्थानान्तरण गरिएका गैंडाको संख्या भने बढेको छ । सन् २००० मा ४ गैंडा शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो भने २०१६ मा ५ । शुक्लाफाँटामा एउटा गैंडा पहिले देखि नै रहेको र हाल गैंडाको संख्या १७ छ।

वन्यजन्तु विज्ञका अनुसार गैंडाको संख्या घट्नुको मुख्य कारण तस्करले गैंडाको सिङको अवैध व्यापारका लागि सिकार गर्ने प्रवृत्ति हो । त्यसबाहेक वासस्थान विनास, मानिस र गैंडाबीचको द्वन्द, जलवायु परिवर्तन र प्राकृतिक विनासलगायतका कारणले गैंडा संकटमा पर्ने गरेको छ । २०१५ मा भएको गैंडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय २५ गैंडा रहेका छन् । सो संख्यामा केही वृद्धि हुनसक्ने सुवेदीको अनुमान छ । सन् २०१९ मा पनि गैंडा गणना गरिने तयारी छ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App