समाज

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान

सर्लाहीको हरिवनमा बिहीबार लागूऔषध दुर्व्यसनी विरुद्ध युवाहरूले निकालेको सचेतना र्याली।   तस्बीर : टंक/नागरिक

सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सलाहीको हरिवनका युवाहरूले बिहीबार दिउँसो युवालागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम गरेका छन्। 

युवाहरुलाई लागूऔषध दुर्व्यसनीको कुलत त्याग्न आग्रह गर्दै हरिवन युथ सर्लाहीले र्याली एवं अन्तरक्रिया कार्यक्रम गरेको हो। युवाहरूले हरिवन बजारस्थित पूर्व सुर्ती विकास चौरदेखि पश्चिम नेवाः सेवा समाजको सभाहलसम्म पूर्व–पश्चिम राजमार्गमा लागूऔषध दुर्व्यसनी विरुद्धका विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनी सहित र्याली सम्पन्न गरेका हुन्।

र्यालीपश्चात नेवाः सेवा समाजको सभाहलमा आयोजित अन्तरक्रियामा काठमाडौं स्थित लागूऔषध दुर्व्यसनी विरुद्ध सकृय नार्कोनन नेपालका प्रतिनिधिहरूले आफ्ना कुराहरू राखेका थिए। कार्यक्रममा स्थानीय युवा, विभिन्न विद्यालयका विद्यार्थी, समाजसेवीलगायतको उपस्थिती रहेको थियो। 

‘स्थानीय युवाहरूलाई लागूऔषध दुव्र्यसनीबाट हुने बेफाईदा र त्यसले समाजमा पार्ने नकारात्मक प्रभाव बारेमा सचेतना जगाउने उद्धेश्यले कार्यक्रम गरेका हौं’, हरिवन युथ सर्लाहीका संयोजक अरुणजंग कार्कीले भने, ‘अब हरिवनयुथले निरन्तर यस्ता विषयमा रचनात्मक कार्यक्रम गर्ने छ।’

पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग अन्र्तगत हरिवन, लालबन्दी, नयाँरोड लगायत व्यापारिक स्थल लागूऔषध कारोबारी एवं सेवनकर्ताको मुख्य थलो बन्दै आइरहेको सर्वत्र गुनासो बढ्दै गएको छ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०७:२० बिहीबार

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान