समाज

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार

बैतडी – सामाजिक सुरक्षा भत्ताको रकमले बैतडीकी एक वृद्धाले मन्दिरको प्रवेशद्वार निर्माण गरेकी छन्। मेलौली नगरपालिका–१, आगर बसाडीकी १०४ वर्षीया चाखुडी चन्दले भत्ताको रकमबाटा प्रवेशद्वार बनाएकी हुन्।

गाउँमै रहेको उदयदेवको मन्दिरको प्रवेशद्वार २५ हजार रुपैयाँ खर्चेर निर्माण गरेकी हुन्। धार्मिक संस्था र विकास निर्माण कार्यप्रति आस्था रहेको र आगामी दिनमा पाउने भत्ता पनि विकास निर्माण कार्यमा लगाउने  उनले बताइन्।

सामाजिक सुरक्षाको रकमले मन्दिरको प्रवेशद्वार बनाएपछि उनको सामाजिक कामले स्थानीय प्रसन्न भएका छन्। उनी जस्तो सामाजिक सुरक्षा भत्ताले समाज सेवा गर्ने विरलै पाइने मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। अन्य जेष्ठ नागरिक भत्ताको रकमले घरयासी खर्च चलाउ छन्। उनले त्यही रकम सामाजिक काममा लगाएको प्रमुख नायकको भनाइ छ।

यनका तीन छोरा ६ छोरी छन्। नाती २२, नातनी १४, पनाती १७ र पनातनी १९ गरी ८१ जनाको परिवार छ। ‘उनको सानैदेखि सामाजिक काममा रुची थियो,’ उनका छोरा प्रतापले भने, ‘आमाको धार्मिक भावना र सामाजिक भावनाले हामीलाई पनि प्रेरणा दिएको छ।’

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:१८ शुक्रबार

सामाजिक सुरक्षाको रकमबाट १०४ वर्षीया वृद्धाले निर्माण गरिन् प्रवेशद्वार