समाज

पश्चिममा झाडापखाला प्रकोप : बिरामी संख्या हजार नाघ्यो

दाङ – पश्चिम दाङमा फैलिएको झाडापखाला झन पछि झन विकराल बन्दै गएको छ । शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या १ हजार नाघेको छ ।

शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनका अनुसार आइतबार अपरान्हसम्म १ हजार ११ जना बिरामी उपचारका लागि आएको जानकारी दिए । उनका अनुसार हिजोभन्दा आज बिरामीको संख्या अधिक बढेको छ । गएराती सम्म ४ सय १९ बिरामी  रहेकोमा आज भने ५ सय नयाँ ९२ बिरामी थपिएका छन् । बिरामी संख्या अत्याधिक बढ्दै जान थालेपछि त्यहाँ झाडापखाला नियन्त्रण बाहिर पुगेको छ। ‘हिजोको तुलनामा आज बिरामीको संख्या निकै बढेको छ,’उनले भने ‘अहिले सम्म कूल बिरामी संख्या १ हजार ११ जना पुगिसकेको छ।’ 


उपचारका लागि आज स्वास्थ्य चौकी पुगेका बिरामीहरु अलि गम्भीर छन् । दुईजना गम्भीर बिरामीलाई नेपालगन्ज रेफर गरिएको छ। ‘हिजोको तुलनामा आज आउने बिरामीहरुमा बढी गम्भिर समस्या देखा परेको छ,’उनले भने ‘सुरुमा अलि अलि होला भन्ने भयो, एक हजार बिरामी आउँदा त हामीहरू स्वयं अन्यौलमा परेका छौँ ।’

गाउँमा झाडा पखालाको प्रकोपै देखिएपछि उपचारका लागि राप्ती अञ्चल अस्पताल र राप्ती उपक्षेत्रीय अस्पतालबाट चिकित्सकहरुको टोली शान्तिनगर पुगेको छ। बिरामी संख्या अधिक बढेकाले चौरमा राखेर उपचार गरिएको पुनले जानकारी दिए। ‘बिरामीहरू अहिले पनि आइरहनु भएको छ, उपचारका लागि कोठा भित्र राख्न सक्ने क्षमता छैन,’उनले भने ‘स्वास्थ्य चौकीको चौरमा राखेर उपचार गरिरहेका छौँ ।’ स्थानीय माइलीपानी खानेपानीको मुहानबाट प्रदुषित पानी वितरण भएकाले झाडाखिाला फैलिएको आशंका गरिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त मुहान र पानीको जाँच गर्नका लागि आज पानीको मुहान क्षेत्र पुगेको छ । 

प्रकाशित: १३ जेष्ठ २०७५ १०:०९ आइतबार

पश्चिममा झाडापखाला प्रकोप बिरामी संख्या नाघ्यो